गाउँमा बढ्यो चहलपहल,शहर बन्यो सुनसान

बढा दशैं शुरु भएसंगै लाहुरेको जिल्ला भनेर परिचय पाएको म्याग्दीका गाउँहरु भरिन थालेका छन् भने सदरमुकाम बेनीबजार लगाएत गलेश्वर,बावियाचौर र दरवाङ आदि ग्रामिण बजारहरुमा मानिसहरुको चहलपहल कम भएको छ ।
अध्ययन,जागिर,छोरीछोरी पढाउन आदि कारणले बजारमा वस्दै आएका व्यक्तिहरु आआफ्नो गाउँ फर्किएपछि बेनी बजार सुनसान जस्तै बनेको छ । हिजो फूलपातीदेखि सरकारी कार्यालयहरु समेत बन्द भएपछि बजारमा मानिसको संख्या निकै कम भएको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तम कर्माचार्यले बताए ।

फूलपातीको अघिल्लो दिनसम्म निकै भीडभाड भएको वैंक तथा वित्तिय संस्थाहरु पनि अहिले सुनसान छन् । वसपार्क,जीपपार्क र देवालयहरुमा भने मानिसहरुको चहलपहल देखिएको छ ।अधिकांश व्यक्तिहरु वैदेशिक रोजगारीमा जाने भएकोले म्याग्दीलाई लाहुरेहरुको जिल्ला भनेर चिनिन्छ । यहाँको कुल जनसंख्या १ लाख १३ हजार मध्ये ३८ प्रतिशत मानिसहरु वैदेशिक रोजगारीमा रहेका छन् ।

तीमध्ये आधा भन्दा बढि व्यक्तिहरु दशैं मनाउन गाउँमा फर्किएकाले गाउँको रौनक फेरिएको अन्नपूर्ण गाउँपालिकाका यामवहादुर वरुवालले बताए ।त्यसैगरी विप्रेषणको अधिकाँश रकम शहरबाट गाउँतर्फ गएको वैंक तथा वित्तिय संस्थाहरुले बताएका छन् । सदरमुकाम बेनीका कपडा पसल,सुन पसल,खाद्यान्न पसलहरुमा पनि यस वर्ष आशातित व्यापार नभएको व्यापारीहरुको भनाइरहेको छ।

६ दिनमा २२ करोड विप्रेशण
रोजगारका सिलसिलामा विभिन्न देशमा गएका म्याग्देलीले दशैंतिहारलाई लक्षित गरी जिल्लामा रहेका बैंक तथा वित्तिय संस्थामा दशैंका ६ दिन (घटस्थापनादेखि फूलपातीको अघिल्लो दिनसम्म) करिब २२ करोड विप्रेषण भित्रिएको बैंकतथा वित्तिय संस्थाहरुले जानकारी दिएका छन् ।

असोजको पहिलोसाता सम्म सामान्य भिडभाड रहेका वित्तिय संस्थामा तीनदिन सामान्य अवस्था भन्दा चार गुणा बढेको बैंक तथा वित्तिय संस्थाले जनाएको छ । दशैंतिहारलाई लक्षित गरी पठाएको रेमिट्यान्स लिन सदरमुकाम बेनी सहित जिल्लाका अन्य ब्यापारिक केन्द्रमा दैनिक रेमिट्यान्स लिन आउनेको भीड लागेको थियो ।

विश्वका विभिन्न देशमा रहेका म्याग्दीबासीले परिवारलाई खानपिन, लत्ताकपडा सहित घरायसी खर्चलाई लक्षित गरी २० हजारदेखि ३ लाखसम्म रेमिट्यान्स पठाउने गरेको गरिमा विकास बैंक बेनी शाखाका प्रवन्धक कमलप्रसाद ढुंगानाले बताए । जिल्लामा चारवटा शाखा रहेको गरिमाको बेनी शाखाले मात्रै दशैंको अवधिमा करिव ५ करोडको कारोबार गर्ने जनाएको छ।

गरिमाले बार्षिक करिव एक अर्वको हाराहारीमा गरिमाले रेमिट्यान्स भुक्तान गर्ने बताउँदै यसबर्ष विगतको तुलनामा बढेको जनाएको छ । जिल्लामा रहेका सेवाप्रदायक संस्थाले दिएको तथ्याङ्क अनुसार प्रतिब्यक्ति न्यूनतम १० हजारदेखि ५ लाखसम्म वितरण भइरहेको लोकदिप बचत तथा ऋण सहकारीका प्रबन्धक नेत्रराज सुबेदीले बताए ।

उनले सहकारीमार्फत बार्षिक ६ करोडको रेमिट्यान्स वितरण गर्ने गरिएपनि दशैंको सिजनमा अत्याधिक रहेको बताए । जिल्लामा साक राष्ट्रका साथै यूरोप, अमेरिका सहित खाडीमुलकबाट रेमिट्यान्स भित्रिने गरेकोमा करिव ७० प्रतिशत रेमिट्यान्सको हिस्सा खाडीमुलुक रहेको छ । खाडीमुलुकबाट भित्रिने रेमिट्यान्स घरायसी खर्चमै सिमित हुने गरेको समेत सेवाप्रदायक संस्थाले जनाएका छन् ।

दशैं मनाउने शैलीमा परिवर्तन
करिव चार दशकअघिको दशैं र अहिलेको दशैंमा धेरै भिन्नता आइसकेको स्थानीय बृद्धबृद्धाहरुले बताएका छन् । युवा विदेश पलायन, सामाजिक संस्कारमा आएको विचलन र प्रविधिको विकासले दशैंलाई फरक बनाउँदै लगेको उनीहरुको भनाइ रहेको छ ।
त्यसैगरी भौतिक पूर्वाधारमा आएको विकासका कारण अव घर सिंगारपटार,लिपपोत गर्ने चलन हराउँदै गएको छ । लिंगे पीङ र चमच्चा गाउँघरमा देखिन छोडेका छन् भने युवा र बालबालिकाहरु मोवाइल,ल्यापटप लगाएतका प्रविधिमा व्यस्त हुने गरेका म्याग्दीका साजिक विकास विज्ञ हरिकृष्ण आचार्यले बताए ।

गुन्जिनै छोड्यो मालाश्री धुन
दशैंमा गाउँका घरघरमा पुगेर क्लाँटा बाजा बजाउँदै मालाश्री धून बजाउने चलन हट्दै गएको छ । अहिले त्यो धुन रेडियो, टेलिभिजनमा प्रशस्त सुन्न पाइन्छ । मालाश्री धनु कस्तो हुन्छ ? अहिलेका पुस्तालाई थाहा नै नभएको बेनी नगरपालिका २ का ८३ वर्षिय बेदप्रसाद शर्माले बताए ।

संचारमाध्यमहरुमा दशैंको समयमा व्यापकरुपमा मालाश्री धुन वज्ने भएपनि म्याग्दीका नेवार समुदायलाई बाहेक अन्यलाई मालाश्री धुनको वारेमा केही जानकारी नै छैन भन्दा अत्युक्ति हुँदैन । शान्त रसमा करुणाको संचार प्रवाह गराउने माधाश्री धुनको सट्टामा अहिले गाउँघरमा पनि आधुनिक र आयातित गीत संगीत बजाएर दशैं मेला आयोजना गरिएका छन् ।

न गरिन्छ चण्डी पाठ, न बढाइन्छ श्रमदानमा हात
दर्शैंलाई नवरात्र पनि भनिन्छ । नवरात्र अवधिभर घरघरमा शक्ति स्वरुपा दुर्गाका ९ ओटा स्वरुपको वर्णन गर्दै दुर्गासप्तशति (चण्डी) पाठ गर्ने गरिन्थ्यो । तर अव चण्डी पाठ एकादेशका कथामा परिणत भैसकेको स्थानीय बूढापाकाहरुको भनाइ रहेको छ । ‘दशैंको पहिलो दिन घटस्थापना (जमरा राखेपछि) गरेपछि साँझ विहान घरघरमा दुर्गा सप्तशति पाठ गर्ने गरिन्थ्यो, बेनपा २ का ८३ वर्षिय बेदप्रसाद शर्माले भने, ‘ तर अहिले दुर्गा सप्तशतिको पाठ गर्नु त परको कुरा दुर्गा सप्तशतिको पुस्तक समेत देख्न पाइदैन । त्यसैगरी दशैंमा सार्वजनिक स्थल (बाटो,मठ मन्दिर,विद्यालय,चौतारी आदि) को मर्मत तथा सरसफाइका लागि श्रमदान गर्ने चलन थियो । तर पछिल्लो समय त्यो चलन पनि हटेर गएको बूढापाकाहरुको भनाइ रहेको छ ।

प्रविधिले खोस्यो सामिप्यता र आत्मियता
दशैं केवल औपचारिकतामा सीमित हुन थालेकोमा बूढापाकाहरुको गुनासो रहेको छ । बल्ल बल्ल घरमा आएका छोराछोरी,नातिनातिना,आफन्तजनहरु पनि मोवाइल र इन्टरनेटमा व्यस्त हुने हुँदा मनखोलेर कुराकानी गर्न नपाइने बावियाचौरका दधिराम शर्माले बताए । ‘एक ठाउँमा वस्दा पनि सामिप्यताको अनुभूति नै हुँदैन,सबै आआफ्नो तालमा व्यस्त हुन्छ,सोधेको कुरा मात्रै संक्षेपमा भन्छन् बढि कुरा गर्ने समय नै हुँदैन,शर्माले भने ‘प्रविधिले सामिप्यता र आत्मियतामाथि नै अतिक्रमण गरेको छ ।