दुर्गा पंगेनी/हिन्दू धर्मावलम्बी नेपालीहरुको दैलोमा दशैँ आइसकेको छ । केही स्मृतिको झाेँक्काहरु मेरो मस्तिष्कमा यताउति गरिरहेका छन् । दशैँसँग जोडिएका अनगिन्ती स्मृति छन् । बाल्यावस्थाका एकथरी, हुर्किँदै गर्दाका, किशोरावस्थाका, तन्नेरी अवस्थाका अर्कोथरी र वयष्क अवस्था झन् अनेकथरी ।

ती सब एक झमट आउँछन्, अनि निमेषभरमै गायब हुन्छन् । तर, कहिल्यै छाड्दैन अस्पतालको आंगनमा आमाको हातबाट लाएको दशैँको टीकाको सम्झनाले । आमाको ममता मुछिएको अन्तिम टीका थियो त्यो । दशैँ सकिएको केही दिनमै आमाले संसार छाडिन् । आमाको देहान्तसँगै मेरो दशैँको रंग उड्यो । अहिले पनि फिक्काफिक्का लाग्छ ।

मेरो आँखामा नाँचिरहन्छ, शिक्षण अस्पताल महाराजगञ्जको वार्डबाट आमा क्याथेटर र युरिनको पोको आफैंले समातेर हिँड्दै पार्कसम्म आएकी थिइन् । भाइ ईश्वरी र मलाई टीका लगाइदिएकी थिइन् । भित्रभित्रै गल्दै गइरहेकी आमाले आश्वस्त पारेकी थिइन्, ‘अब त हिड्न सक्ने भएँ । केही वर्ष अझै बाँच्छु ।’ आमाको ‘बाँच्छु’ शब्दले अस्पतालकै आँगनमा भए पनि दशैँ बडो रमाइलो लागेको थियो ।

तर, बाँच्नुभएन । यसपल्ट दशैँ आउँदै गर्दा आमा आइन् सम्झनामा । लेख्न तम्सिए आमाको कथा । पीडा लुकाएर हाँस्न जानेकी एक अजिबकी पात्रको कथा । आफू दुखेर अरुका लागि मल्हम बोक्ने साहसीको कथा ।

०००

२००९ सालमा जन्मिएकी मेरी आमाको २०२४ सालमा आफ्नै भिनाजुसँग बिहे भएको थियो, तेस्री श्रीमतीको रुपमा । सम्भवतः आफ्ना मनपर्ने ज्वाइँकी कान्छी श्रीमती हुन्छे भनेर आफ्नी एउटी छोरी बितेपछि मावली हजुरबाले आमालाई अन्माएर पठाएका थिए । आफ्नी एउटी छोरीको मृत्यु हुँदा ज्वाइँलाई परेको खतीको क्षतिपूर्तीका रुपमा पो आमालाई अन्माएका थिए कि ? तर, आमा कान्छी श्रीमती भइनन् । उनी त साइँली दरिइन् ।

मेरी आमाकी दिदी अर्थात् मेरी ठूलीआमाको २०१० सालमा मेरा बासँग विवाह हुँदा ठूलीआमा दश वर्षकी र मेरी आमा एक वर्षकी मात्रै थिइन् । बा ससुराली जाँदा त्यो १४ वर्षको अन्तरालमा धेरैपटक आफ्नी सानै सालीलाई काखमा खेलाएका थिए । बोकेर यताउति गरेका थिए । मेरी आमा उहाँका भिनाजु (मेरा पिता)को काखमा खेलेरै हुर्किएकी हुन् । पछि दुर्भाग्यवस ठूलीआमाको मृत्यु भयो । आमाका भिनाजुले अर्को बिहे गरे । तर मेरा मावली हजुरबालाई चिन्ता परिरह्यो। आँगन पोलेर पुजेर, जल खाएर बनाएका ज्वाइँलाई आफ्नी छोरी मरेपछि परेको दुख घटाउन र टुट्न लागेको सम्बन्ध जोगाउन अर्की छोरी दिने निधो गरे ।

मेरो पिता पढेलेखेको मान्छे । खानदानी परिवारको छोरो । मेरा मावली हजुरबाले त्यस्तो मान्छे गुमाउन चाहेनन् । पहिला दश वर्षकी जेठी छोरी सुम्पेका उनले अहीले फेरी उही ज्वाइँलाई बोलाएर चौध वर्षकी अर्की छोरी अन्माएर पठाए । मेरी आमा आफ्नो बा जत्रै लाग्ने भिनाजुकी श्रीमती र ज्वानखोले खानदानकी बुहारी भइन् ।

घर कडा थियो। सासु राइकट थिइन्। सौता माथिको बुहार्तन सजिलो थिएन। चौध वर्षको केटाकेटी उमेर त्यसमाथि अट्ठाइइस-तीस वर्षको बाघजस्तो लोग्ने । डर मर्नु तरिकाले घर थेगेकी मेरी आमाको लागि पर्वहरु पनि डराई–डराई आउँथे । रमाईलो र खुशीहरु पनि लुकी–लुकी आउँथे र कहालिएर फर्किन्थे । एक किसिमको सास्ती नै थियो त्यो बुहार्तन। भाँडाकुटी र पुतली विहे खेल्ने उमेरमा मेरी आमा कडा घरकी बुहारी भएकी थिइन्। धेरै रात रोएरै गुजार्नुपरेको उहाँले सुनाउनुभएको विगत मलाई चलचित्रको कथा जस्तो लाग्थ्यो । मेरो कपालमा औंला खेलाउदै मलाई सुताउँदा उनले धेरै कथा सुनाइन् । छोराले बुझोस् भनेर होइन, मनको बह पोख्न ठाउँ नपाएर सुनाएकी हुन् ।

चौबिस सालमा चौध वर्षकी केटी बिहे गरेका मेरा बालाई सन्तानको अत्यन्तै रहर थियो । उनी तीस वर्षका थिए तर सन्तान जन्मेका थिएनन्। कुल धान्नु थियो । वंश जोगाउनु थियो। यस्ता ठूला जिम्मेवारीले थिचिएका मेरा बाले तीन वर्ष पर्खे । सन्तान जन्मने कुनै लक्षण नदेखेपछि मेरी आमा सत्र वर्षकी मात्रै हुँदा सत्ताइस सालमा अर्को विहे गरे ।

सत्रवर्षको उमेर भइसक्दा र विहे गरेको तीन–तीन वर्ष हुँदापनि लोग्नेलाई सन्तान सुख दिन नसकेकी मेरी आमा अझै केही वर्ष पर्खन चाहन्थिन् तर मेरा बा फुपुहरु र ज्योतीषको दवावमा आए । उनले पर्खन मानेनन् ।

एकदिन सुटुक्क दौरासुरवाल लगाएर निस्केका बाले दुई दिनपछि पन्चेबाजा बजाउँदै जन्ती सहित नयाँ दुलही लिएर आँगनमा देखापरे । मेरी आमा वेहोस भइन् । रोइन् कराइन् । ठुल्बाहरुले हप्काए । धेरै बिरोध गरे घरबाट लखेट्ने धम्की दिए । ठुलीआमैहरुले ‘तेरो पुर्पुरै यस्तै रैछ’ भनेर सम्झाए। आमाले आफ्नै कर्मको दोष हो भन्ने ठानेर चित्त बुझाइन्।

कान्छी आमाको आगमनसँगै घरमा दिदीहरु जन्मिए । ठूलो दाजी जन्मनुभयो । हाम्रो घर स्वर्ग जस्तै सुखैसुखले भरिपूर्ण हुँदै गयो, जुन यद्यपी कायम छ । सन्तान जन्माउन मेरा बाले के गरेनन् । आँपको रुखसँग समेत विवाह गरेका छन् । म लगायत हामी सबै सन्तानलाई जन्म दिनको लागि उनले गरेको संघर्ष सम्झदा बाप्रति सम्मानभाव जागेर आउँछ ।

०००

समय बित्दै गयो । आमा प्राय रोईरहन्थिन् । किन रुन्थिन् मेरीआमा त्यति धेरै? त्यो बुझ्ने उमेर हुनै लागेको थियो । अचानक आमा बिमारी भइन्, उठ्नै नसक्ने गरी । बेथा लुकाउने अचम्मको बानी थियो आमाको। किन त्यसरी आफ्नो विमार लुकाउँथिन् ? मैले कहिल्यै बुझीन या बुझ्नै सकिनँ । जति सकस भएपनि कहिल्यै ‘बिमारी छु’ भनिनन्।

त्यो दिन अचानक आयो र आमा थला परिन्। ज्वरो आउने, घुँडा दुख्ने, सास फेर्न गाह्रो हुने र वाकवाकी लागीरहने हुँदाहुँदै मेरी आमा ओच्छ्यान परेकी थिइन्। धामीझाँक्री देखाउने, गुरुङ डाक्टरका ट्याबलेट र पिपलटारे डाक्टर्नीका आयुर्वेदिक झोल दवाइको भर पर्न छाडिसकेकी थिइन् आमा । उनीहरुले ‘गेष्टी’ हो भनेर धेरै पैसा असुलीसकेका थिए । आमालाई सेक विसेक लागेको थिएन ।

आमा उठ्नेबस्ने गर्नै नसक्ने भएपछि मैले हिम्मत गरेर बासँग भनें, ‘बा आमालाई अस्पताल लैजाम न ।’ बा ले पुलुक्क मलाई हेरे । वरीपरी कोही छ कि भनेर नजर दौडाए । अनि सुस्तरी भने, ‘अव पिंढी कुर्ने दिन आएका हुन अस्पताल लगेर फाइदा छैन । खर्च ठुलो आउँछ ।’

म असमज्जमा परें । आमालाई ठूलो डाक्टरलाई देखाउन पाए निको हुन्थिन् कि भन्ने मेरो आशामा तुषारापात हँुदै थियो । मेरा बा उपचारको मामलामा निकै अनुभवी मान्छे हुन् । उनका दुबै मिर्गौलाको अपरेसन गरेर पत्थर निकालेको हो । बाको अपरेसनताका आमाले रातदिन भगवानको पूजा गरेर व्रत वसेर उनलाई निको होस् भनेर कामना गरेको धेरै समय भएको थिएन । बा निको भएर फर्केका पनि हुन काठमाडौंबाट तर मेरी आमा बिमारी हुँदा बाले किन यति साह्रै उपेक्षा गरेका ? विहान उठेर आमालाई लिएर म अस्पताल हिँडे काठमाडौं । दिदी उतै थिई ।

आमालाई डाक्टरले जाँचे, दुबै मिर्गौला विग्रेको भने र उपचार सुरु गरे । आमालाई उपचार गर्ने पैसाको निकै समस्या पर्यो । म भन्दा सानो भाई ईश्वरीले सात हजार जोगाएर राखेको रहेछ । त्यो पनि मासियो । दिदीसँग र मसँग भएका वीसतीस हजार रुपैयाँ समेत कुनै छेउ नलागी दुई हप्तामै सकिए । त्यसपछी बाले पटक–पटक गरी पन्ध्र हजार पठाउनुभएको थियो । त्यो पैसाले कुनै छेउ लागेन ।

अपरेशन गरेको साठीऔं दिनसम्म आमालाई सन्ताउन्न पोका रगत दिनुपरेको थियो । उपचार गर्दा म ऋणमा चुर्लुम्मै डुबिसकेको थिएँ । आमा पीर गरिरहन्थिन्। आफू बिमारी हुनाले बालख छोरो ऋणमा डुब्दा कुनचाहिं आमा पो दुखि नहोलिन् र । अभावै अभावमा उपचार गराउँदा पनि मेरो ऋणको ग्राफ डेढ लाखबाट उकालो लागिसकेको थियो । शिक्षण अस्पतालले डिस्चार्ज गर्न पनि सकेन, निको बनाउन पनि सकेन । एकजना दयालु नर्सको अनुकम्पाले मेरी आमालाई फ्री बेडमा सारेर उपचार गर्न सहयोग पुग्यो, त्यसपछि भने पहिला जस्तो ठूलो खर्च आएन ।

अपरेशन पछि दुई महिना अस्पताल बसेपछि एकदिन डाक्टरले बोलाएर मलाई सोधे, ‘तिम्रा बा खोई ?’ मैले ‘घरैछन’ भन्ने जवाफ दिएपछि सके आजैको दिनभित्रै बालाई बोलाउ भने । आमा आईसियुमा थिइन् । मैले अनिष्ट हुने शंका गरें । बालाई फोन गरें । भोलीपल्टको बस चढेर बा आइपुगे । झोलामा केही तुलसीका पत्ता र जौतील ल्याएका रहेछन् । मैले बा आइपुगेको डाक्टरलाई सुनाएँ । उनिहरुले भेन्टिलेटर निकाल्ने निर्णय गरे । म स्तब्ध भएर उनीहरुको कुरा सुनिरहें ।

निलो गाउन लगाएर बा आमाको टाउको नजिकै उभिएका थिए । म गोडा पट्टीबाट आमाको मुखमा लगाइएको पाईप हेर्दै थिएँ । अटोमेटिक मेसीनले आमालाई सास फेराइरहेको थियो । एकछिनमा नर्स आइन् । ईसीजी मेसिनमा के–के चलाइन्। तियहाँ देखिएका रातानिला बांगा धर्सा सोझा हुँदै गए । एउटा लामो आवाज निकालेर मेसिनले टुइइय ग¥यो । नर्सले त्यो मेिसन बन्द गरिन् र आमाको मुखबाट पाइप निकालिन् । छातीमा टाँसेका बाटुला टेप हटाइन् । बा ले बरर गीता पाठ गर्न थाले । आमाको मुखमा तुलसी पात र जौतील राखिदिए । आमाले घिक्क गरिन् । बा ले तप्प आँशु चुहाए । म किंकर्तब्यविमुढ मुढो झैं त्यहाँ ठडिइरहें ।

यसरी आमाको जीवन समाप्त भयो र म टुहुरो भएँ । रात परिसकेको थियो । आइसियुबाट निकालेर आमालाई अन्तै कतै लगियो । मैले त्यता हेर्न पाइन । भोलिपल्ट अन्त्येष्टिको लागि लास निकाल्ने बेलामा मात्र मैले थाहा पाएँ, मेरा बाको संगत ठूला मान्छेहरुसँग रहेछ ।

पूर्व मन्त्री दिनबन्धु अर्याल, बहालवाला मन्त्री गोपालमान श्रेष्ठ, सांसद शंकर पाण्डे र युवा नेता कमल पंगेनीहरु बालाई परेको दुःखमा दुःख मिसाउन अस्पताल आइपुगेका थिए । ठूला मान्छेकी श्रीमती बितेकोमा आर्यघाटमा समेत ठूलै मान्छेहरु मलामीको रुपमा उपस्थित थिए । बालाई आमाको मृत्युले कुनै अशर पर्यो कि अथवा परेन त्यो म बुझ्दिनँ । किनकि बाका अरु दुई श्रीमती बाँकी थिए । तैपनि आफ्नै श्रीमती मर्दा केही पिडा त भयो होला त्यसैले त हिजो दुईथोपा आँसु चुहाएका थिए । मेरो भने संसार लुटिएको थियो । दैबको लाठी मैमाथि बज्रेको थियो । निरीह भएको थिएँ । यो सब म आफैमाथि परेको बज्रपात हो भनेर विस्वास गर्नै सकीरहेको थिइनँ ।

आमा धुवाँमा बिलिन भइरहँदा मैले केही डाक्टरले पनि ‘निको हुन्छ अव धेरैदिन अस्पताल बस्न पर्दैन’ भन्ने आश्वासन सम्झिएँ । आमाले क्याथेटर र युरिनको पोको समातेरै टिचिङ अस्पतालको पार्कसम्म झरेको सम्झिएँ । बिमार लुकाएर हंसमुख हुँदै भाई ईश्वरी र मलाई टीका लगाइदिएको सम्झिएँ।

केही दिनअघि फुलपातीको दिन आमालाई अस्पतालको बेडमा छोडेर दिदी घर फर्कीएकी थिई । उसको जागीर थियो स्कुल पढाउँथी । आमासँगै बसिरहन उसलाई जागीरले दिएन तर मनमा आमा निको भएर फर्कने सपना बोकेर ऊ घर गएकी थिई ।

आमाको अन्त्यष्टी सकियो । वालिङ जाने गाडी थानकोटबाट ओरालो लाग्दा म झल्याँस्स भएँ । मेरो सिटको आडैमा भाई बसेको थियो । यही उकालो गाडीमा चढ्दै गर्दा आमालाई निको बनाएर तन्दुरुष्त बनाएर फर्कने रहरका साथ काकाठमाडौं छिरेको म आमाको अस्तु आर्यघाटमा सेलाएर एक्लै फर्कदै थिएँ । अनायासै मेरा आँशु बगे। म झ्यालपट्टी फर्किएँ । भाईले मेरो पिठ्युँमा सुस्तरी मुसा¥यो । अव घर गएर दिदीलाई के भनुँ ? अर्कोे पिरलोले ग्रसित थिएँ म ।

दिदी आमासँग निकै नजिक थिई । मैले बरु केही समय घर बाहिर आमाबाट टाढा भएर बिताइसकेको थिएँ । छोरो थिएँ, सायद अलि कठोर पनि पो थिएँ कि । तर दिदी विहेपछि पनि आमासँगै थिई । उसले पढाउने स्कुल नजिकै थियो,प त्यसैले ऊ आमासँगै बस्थी । दशैँ विदा थियो । त्यसैले आफ्नो घर गएकी थिई । काठमाडौंबाट मेरा भिनाजु पनि मसँगै फर्किएका थिए । उनी घर पुगेर सोझै दिदीलाई हामी काठमाडौंबाट फर्केको खवर मात्र सुनाएछन्।

एक हप्ताअघि निको हुँदै गरेकी आमाको उतै मृत्यु भयो र भाई एक्लै फकियो भन्ने मेरी दिदीले सोच्दै सोचिन । उ, हुर्रिएर निको भएकी आमा भेट्न आइपुगी ।

दिदी आइपुग्दा साँझ परिसकेको थियो । पिंढीलाई गुन्द्रीले बारेर मलाई राख्ने ‘कुनों’ तयार पारिकसकेका थिए । मेरो कपाल खौरिएर म मुडुलो भइसकेको थिएँ । दिदी घरमुनी आइपुगेको सम्चार आयो । ऊ खुशी हुँदै हान्निएर आएकी थिई ।

‘यहाँ आएपछी भाईलाई झम्टिन्छे सितेले । यसलाई कुनातिर लुकाओ। छुन दिन हुँदैन,’ पण्डित बाले हो कि थुम्केली बाले हो मलाई लुकाउने उर्दी जारी गरे । साहु रामेले कुनाको गुन्द्रो पन्छाएर मलाई भित्र छिर्न ईशारा गर्यो । म लुकें । दिदी आँगनमा प्रवेश गरी र ‘आमा’ भनेर बोलाई । मेरा आँखाबाट बलिन्द्र धारा आँशु बगे तर म चिच्याएर रुन सकिनन् ।

‘आमा खोई ?’ दिदीले कसैसँग सोधी । उसले सोध्नेबित्तिकै सबैजना एकैपटक कोकोहोलो मच्चाएर रुन थाले । मैले कुनाको चेपबाट हेरें। दिदी उत्तानो परेर छटपटाउन थाली। ‘आमा हो’ भनेर कहालिई । आमा वितेको मलाई किन सुनाएनौ भनेर दोष लगाई । म नआउँदै भाईलाई किन थुन्यौ भनेर चिच्याई । एकपटक बाहिर बोलाईदेउ ‘भाईलाई हेर्छु’ भनेर विलौना गरिरही । उसले झम्टेर छोइदिन्छे र सुरुदेखिकै रित पूरा गर्नपर्छ भनेर मलाई दिदीको अगाडी जान दिइएन । यसरी परम्परा र चलनबाट च्यापिएर आमाको मृत्युमा एकअर्काले मुखामुख गरेर रुन समेत पाइएन । हामी एक्लाएक्लै रोइरह्यौं धेरैबेरसम्म ।

०००

यसरी खोसिएको मेरो अभिभावकत्व, खुशी र उमंग सम्झाउँछ दशैँले । लाग्छ– भुल्न खोजेको मातृवियोग सम्झाउन मात्रै आउँछ मेरा लागि दशैँ । ओभाउन थालेका आँखामा आँसुको मुल फुटाउन आउँछ दशैँ । Source: News24nepal.tv

विज्ञापन