दशैैमा अरिङ्गालका परिकार बनाउन भ्याइनभ्याइ, भन्छिन् : प्रवासी नेपालीहरुले धेरै रुचाए

अक्करे भिर तथा पहरा र ठूला तथा अप्ठ्यारा रुखका टुप्पोमा अरिङ्गालले आफ्नो गोला लगाउने गर्दछ । मानिसहरु त्यही अरिङ्गालको गोला झारेर किरा खानका लागि निकै दुःख र मेहनत गर्छन् ।अरिङ्गालको गोलो पोलेर झार्ने काम अति जोखिमपूर्ण मानिन्छ । अरिङ्गालले टोकेमा मानिसको ज्यानै जाने खतरा हुन्छ । तर, यस्तो जोखिमपूर्ण मानिने अरिङ्गालको गोलो पोलेर वा झारेर किरा खाने काम भने म्याग्दीमा फस्टाउँदै जान थालेको छ।

सामुदायिक वन जङ्गलमा पाइने अरिङ्गालको गोला पोलेर मानिसहरुले शहर बजारका होटलमा किरा बिक्रीका लागि ल्याउने गरेका छन् । पछिल्लो समय म्याग्दीको सदरमुकाम बेनीमा अरिङ्गालको व्यापारले तीव्रता पाएको छ । यहाँ त मान्छेले नै अरिङ्गालवालीको उपमा समेत पाएका छन् ।यही अरिङ्गालवालीको नामले चिनिएकी एक हुन्, सदरमुकाम बेनीस्थित विरेन्द्रचोकमा सञ्चालित रोजिना होटल एण्ड रेष्टुरेण्ट थकाली भान्छा घरकी प्रोप्राइटर सिर्जना भट्टचन ।

अहिले उहाँलाई अरिङ्गालका परिकारहरु बनाएर बिक्री गर्न भ्याइनभ्याइ छ । बेनीमा होटल व्यवसाय सुरु गरेको ३० वर्ष पुगे पनि उहाँले गएको वर्षदेखि अरिङ्गालको किरा खरिद गरेर त्यसको परिकार बनाइ बिक्री गर्न थाल्नुभएको हो । उहाँको होटेलमा अहिले दैनिक रुपमा अरिङ्गालको परिकार बिक्री भैरहेको छ ।

सिर्जनाको होटलमा म्याग्दीको मालिका गाउँपालिकाको विम गाउँबाट र बाग्लुङ जिल्लाबाट अरिङ्गालको किरा बिक्री गर्न युवाहरुले ल्याउने गरेका छन् । महिला उद्यमी सिर्जनाले गाउँबाट अरिङ्गाल खोजेर ल्याउने युवाहरुबाट मानाको हिसाबले प्रतिमाना एक हजार पाँच सय रुपैयाँदेखि १८ सय रुपैयाँसम्म अरिङ्गालका किरा खरिद गरेर राख्नुहुन्छ ।

त्यही किरालाई उहाँले मसला मिसाई फ्राई गरेर प्रति प्लेट ६ सय रुपैयाँसम्म बिक्री गर्ने गरेको बताउनुभयो । दैनिक उहाँको होटेलमा १० देखि १५ प्लेटसम्म अरिङ्गाल बिक्री भैरहेको छ । अरिङ्गालका पारखीहरु अरिङ्गाल खान भन्दै खोजीखोजी आउँछन् । गाउँका युवाहरुले पनि वनजङ्गल र भिर पहराबाट अरिङ्गाल पोलेर किरा सङ्कलन गरी बिक्री गर्दा राम्रै कमाइ गर्छन् । गाउँघरमा युवाहरुले अरिङ्गाल पोल्नका लागि वनजङ्गलमै बास बसेर अरिङ्गालको गोला पोल्ने गरेका छन् ।

अरिङ्गालको परिकार धेरै मन पराउनेहरुमा प्रवासी नेपालीहरु रहेका छन् । खासगरी विदेश जानेहरु, विदेशबाट फर्किएका र शहर बजारमा बस्नेहरुले रुचाउँछन् । सङ्कलन गर्न अति नै कठिन हुनेहुँदा अरिङ्गालको परिकार खाँदा भने निकै स्वादिलो हुन्छ ।

अरिङ्गालको परिकार विशेष गरी विदेशबाट फर्किएकाहरुले नै बढी रुचाउने गरेको महिला उद्यमी सिर्जनाले बताउनुभयो । अरिङ्गालको परिकारलाई मानिसहरुले बियर, रक्सी र मासुसँग खाने गर्दछन् । विदेश जानेहरुले अरिङ्गालको परिकार खरिद गरेर लैजाने पनि गरेका छन् । अरिङ्गालको परिकार खरिद गर्न र खानका लागि ग्राहकहरुले फोनमार्फत नै अर्डर गरेर आउने गरेको उद्यमी सिर्जनाको भनाइ छ ।

अरिङ्गालको परिकार बेचेर वार्षिक ३ लाख कमाइ

म्याग्दी उद्योग वाणिज्य संघअन्तर्गतको महिला उद्यम विकास समितिको कोषाध्यक्ष समेत रहेकी सिर्जनाले गएको वर्ष अरिङ्गालको परिकार मात्रै बिक्री गरेर तीन लाख रुपैयाँभन्दा बढी आम्दानी गर्न सफल भएको बताउनुभयो ।

उहाँले गएको वर्षमा एक लाख रुपैयाँ बराबरको अरिङ्गालको परिकार पोखरा र काठमाण्डौको बजारमा समेत बिक्री गरेको जानकारी दिनुभएको छ । यस वर्ष भने गएको वर्षको तुलनामा अरिङ्गालले कम गोलोलगायतका कारण अरिङ्गालको किरा थोरै आएको उद्यमी सिर्जनाले बताउनुभयो ।

स्वास्थ्यलाई पनि फाइदाजनक

अरिङ्गालको परिकार खाँदा मिठो हुने मात्रै होइन, यो स्वास्थ्यका लागि पनि निकै फाइदाजनक मानिन्छ । अरिङ्गालको किरा तेल वा घ्युमा भुटेर खाएमा युरिक एसिड बढेको, प्रेसर–लो हुने, कब्जियत परेको, मेरुदण्ड दुख्ने र हातखुट्टा सुन्निने तथा चिसोका कारणबाट लागेको रोगहरु निको हुने जानकारहरु बताउँछन् । महिला उद्यमी सिर्जनाले आफूलाई प्रेसर–लो हुने र खुट्टा दुख्ने समस्या भएपछि अरिङ्गालको परिकार खाँदा ठिक भएको अनुभव सुनाउनुभयो ।

अरिङ्गालको परिकारलाई निरन्तरता दिने

अरिङ्गालवाली सिर्जनाले अरिङ्गालको परिकार बिक्री गर्दा पेशा तथा व्यवसाय समेत फस्टाएको र आफू पनि हाइलाइटमा आएको हुँदा यसलाई निरन्तरता दिने उहाँले जानकारी दिनुभयो ।

म्याग्दी जिल्लासहित विभिन्न स्थान र मुस्ताङ भ्रमणमा जानेहरु समेत अरिङ्गालको परिकार खोज्दै होटलमा आउने गरेकाले निरन्तर रुपमा अरिङ्गालको परिकार बिक्री गर्ने उहाँको भनाइ छ । अरिङ्गालको परिकारकै कारण अहिले होटलमा आउने पाहुनाहरु बढेका छन् । अरिङ्गालको परिकार बिक्री गर्दा आम्दानी पनि राम्रै हुने भएकाले यसलाई निरन्तरता दिने उहाँले बताउनुभयो ।

कसरी सुरु भयो अरिङ्गालको व्यवसाय ?

डेढ वर्ष अघिसम्म अरिङ्गालको पनि व्यवसाय हुन्छ भन्ने सिर्जनालाई थाहै थिएन । एकपटक रघुगंगा गाउँपालिका–३, चमेरेस्थित महेन्द्रको होटलमा पुगेको बेला अरिङ्गाल चाखेको हुँदा आफूलाई प्रेसर–लो र खुट्टा दुख्ने समस्या निको भएपछि उहाँले व्यवसाय थाल्नुभयो । उहाँले भन्नुभयो, ‘मैले पनि अरिङ्गाल खोजेर बिक्री गर्न पाए राम्रै कमाइ हुन्थ्यो होला, साथै आफ्नो स्वास्थ्य समस्या पनि निको हुने भन्ने सोच भयो ।’

उहाँले थप्नुभयो, ‘त्यसपछि अरिङ्गालको किरा खरिद गरी बिक्री गर्न सुरु गरेकी हुँ ।’ उहाँले छिमेकी पुष्पा पुनको सहयोगमा विम गाउँबाट अरिङ्गालको किरा खरिद गरी त्यसलाई विभिन्न परिकार बनाएर बिक्री गर्न सुरु गरेको बताउनुभयो ।

कति प्रकारका हुन्छन् अरिङ्गाल ?

अरिङ्गाल भन्नाले बारुलाको आकारको, त्यसभन्दा ठूलो तर बच्छयूँभन्दा सानो हुन्छ । यो एक प्रकारको खिल गाडेर चिल्ने बिखालु किरा हो । वन जङ्गल र भिर पहरामा पाइने अरिङ्गाल चार प्रकारका हुन्छन् । यो कालो, रातो, बच्छयूँ र बारुलो नामले चिनिन्छ । यी चारवटा मध्ये बच्छयूँ सबैभन्दा ठूलो किरा हो । कालो अरिङ्गाल छोटो हुन्छ भने रातो अरिङ्गाल अलि लामो हुन्छ ।

बच्छयूँ र कालो इर्ष्यालु हुने हुँदा यिनीहरुलाई जिस्काएको खण्डमा टोक्न सक्छन् । गर्मी यामको समय सुरु भएपछि बाहिर निस्कने र गोला लगाउने अरिङ्गाल जाडोयाममा भने ठूला रुख तथा भिर पहराको टोड्काभित्र गएर बस्ने गर्दछ ।

अनि त्यत्तिकै मार्न पाइन्छ त ?

सामान्यतयाः सजीव जीवजन्तु तथा प्राणी कसैलाई पनि मार्नु त्यति राम्रो मानिँदैन । वातावरण र पर्यावरणीय दृष्टिकोणले अरिङ्गाल पनि मार्न मिल्दैन । अरिङ्गाल, माहुरी, झिमौरी र बारुला हानिकारक होइनन् ।

यिनीहरुले वातावरण संरक्षणमा सहयोग पुर्‍याउँदै आएका छन् । अरिङ्गालले झिँगा, मच्छेट र हानिकारक किराहरु खाएर वातावरणलाई स्वच्छ र स्वस्थ बनाउन मद्दत पुर्‍याउँछ । तर, मानिसहरु भने पछिल्लो समय अरिङ्गाललाई खोजीखोजी मार्न थालेका छन् भने अरिङ्गाल मार्ने एउटा व्यवसाय नै बनेको छ अनि फेसबुकमा प्रचार पनि ।

अहिलेसम्म अरिङ्गाल मार्न पाइने वा अरिङ्गालको व्यवसायसम्बन्धी कुनै पनि कानुन बनिसकेको छैन । जुनकुनै पेशा तथा व्यवसाय गर्नका लागि पनि सम्बन्धित निकायबाट कानुनी इजाजत लिनुपर्छ ।

पहिले व्यापारिक प्रयोजनमा आइनसकेको हुँदा अरिङ्गालसम्बन्धी व्यवसाय गर्नका लागि कानुन नबने पनि अब भने कानुन बनाउनुपर्ने आवश्यकता देखिएको छ । अरिङ्गालको व्यवसाय गर्नेहरुले समेत सरकारले कानुन बनाएर लाइसेन्स दिएको खण्डमा कानुनी दायराभित्र रहेर पेशा, व्यवसाय सञ्चालन गर्ने बताउँछन् ।