व्यावसायिक प्रयोजनको लागि बैंकमा चेक साट्न गएका एक बालक सम्पर्कविहिन बनेका छन् ।कैलालीको कैलारी गाउँपालिका–४ भित्तरिया स्थायी घर रही हाल धनगढी उपमहानगरपालिका–७ मोती चौक बस्दै आएका १४ वर्षीय अविशेक चौधरी बैंकबाटै सम्पर्कविहिन भएका छन् ।

उनको वुवा खुशीराम चौधरीका अनुसार असोज १७ गते दिउँसो उनी धनगढीको क्याम्पस चौकस्थित सांग्रिला डेभलपमेन्ट बैंकमा ५० हजार नगद जम्मा गर्न र ५० हजारको चेक साट्न गएका थिए । चेक साटेपछि अविषेकले साढे ३ बजेको समयमा बैंकबाटै फोन गरी कामको शिलशिलामा मालपोत कार्यालय धनगढीमा रहेका आफ्नो बुवालाई ‘मालपोतमा आउँ कि, घरमा आउँ’ भनी सम्पर्क गरेका थिए ।

उनको फोन सम्पर्कपछि उनको बुवाले कोठामा जान आग्रह गरेका थिए । तर उनी २४ घण्टा बित्दासमेत हालसम्म परिवारको सम्पर्कमा आउन नसकेको उनको बुवा खुशीरामले दुखेसो सुनाए ।उनको बुवा खुशीरामले जिल्ला प्रहरी कार्यालय कैलालीमा खोजीकार्यको लागि निवेदन दर्ता गराएका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले खोजीकार्य जारी रहेको जानकारी दिए ।