दशैं सामिप्यता र आत्मीयता गाँस्ने पर्व पनि हो । गाउँघर छोडेर लामो समय विदेश वा शहरमा बसेका व्यक्तिहरु दशैंको मौकामा जव गाउँघर फर्किन्छन् उनीहरुएकापसमा गफिन र मनोरञ्जन गर्न रुचाउँछन् ।

यसरी एकापसमा गफिन,वर्षभरीको प्रगति,दुःख सुःख साटासाट गर्दै चिसो हावामा स्वच्छन्द भएर रमाउन धेरैलाई मन लाग्छ। त्यसका लागि गाउँगाउँमा रहेका चौतारीहरु धेरैको रोजाइमा पर्ने गर्छन । तर, विकासका नाममा जथाभावि खनिएका मोटरबाटोका कारण यस्ता अमूल्य सम्पदा मानिएका चौतारीहरु नासिदै गएका छन् ।

जति बचेका छन्,ती चौतारीहरु दौतरीहरुको प्रिय स्थल बनेका छन् । छेवैमा खनिएको मोटरबाटोबाट बल्लबल्ल बचेको बेनी नगरपालिका २ फापरखेत कन्थराजथानको चौतारी यहाँको आकर्षण मात्रै होइन सवैको भारी विसाउने गतिलो आश्रयस्थल समेत बनेको छ ।

कन्थराज थानको यो चौतारीको इतिहाँस निकै पुरानो छ । करिव २ सय वर्ष पहिले निर्माण गरिएको यो चौतारी स्थानीय युवाहरुले समयसमयमा मर्मत गरी अझसम्म संरक्षण गरेका छन् । नजिकै रहेको युवा क्लव र आमा समूहको भवन र त्यहाँ हुने कार्यक्रममा पनि यो चौतारीले निकै शोभा दिने गरेको स्थानीय समाजसेवी भीमवहादुर पौडेल बताउँछन् ।

विज्ञापन