यौन दुर्व्यवहारको आरोप लागेका निवर्तमान सभामुख एवं सांसद कृष्णबहादुर महरालाई पक्राउ गर्न अदालतको स्वीकृतिपछि प्रहरीले पक्राउको तयारी अघि बढाएको छ ।संसद् सचिवालयमै काम गर्ने महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा सभामुख पदबाट राजीनामा दिएका महरालाई पक्राउ गरेर हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले आइतवार नै स्वीकृति दिएको थियो । न्यायाधीश ब्रजेश प्याकुरेलको एकल इजलासले महरालाई पक्राउ गरी अनुसन्धान गर्न अनुमति दिएको हो ।सभामुखबाट राजीनामा दिएपनि महरा बहालवाला सांसद हुन् ।

सांसद पक्राउ गर्न के छ संवैधानिक व्यवस्था ?

संविधानको धारा १०३ मा संसद्को विशेषाधिकार सम्बन्धी व्यवस्था छ, जसले ‘संसद्‍मा बोलेको कुनै पनि कुरा, दिएको मत आदिका आधारमा सांसदलाई पक्राउ गरी थुनामा राख्न वा अदालतमा कारवाही चलाउन पाइँदैन’ भन्छ ।

तर, धारा १०३ कै उपधारा (६) ले फौजदारी अभियोग लागेका सांसदलाई पक्राउ गर्न सकिने उल्लेख छ । त्यसका लागि सभाको अध्यक्षता गर्ने व्यक्तिलाई तुरुन्त सूचना भने दिनुपर्ने हुन्छ ।उपधारा (६) मा भनिएको छ– ‘संघीय संसदको कुनै पनि सदस्यलाई अधिवेशन बोलाइएको सूचना जारी भएपछि अधिवेशन अन्त्य नभएसम्मको अवधिभर पक्राउ गरिनेछैन ।

तर, कुनै फौजदारी अभियोगमा कुनै सदस्यलाई संघीय कानूनबमोजिम पक्राउ गर्न यस उपधाराले बाधा पुर्‍याएको मानिने छैन । त्यसरी कुनै सदस्य पक्राउ गरिएमा पक्राउ गर्ने अधिकारीले त्यसको सूचना सम्बन्धित सदनको अध्यक्षता गर्ने व्यक्तिलाई तुरुन्त दिनु पर्नेछ ।’अहिले संघीय संसद्को अधिवेशन अन्त्य भएको अवस्था छ । महरा सदस्य रहेको प्रतिनिधि सभाको अध्यक्षता अहिले उपसभामुख शिवमाया तुम्बाहाम्फेको नेतृत्वमा छ ।

यसरी सदस्यलाई पक्राउ गरेको जानकारी संसद्को अध्यक्षता गर्ने व्यक्तिले सदनलाई गराउनुपर्ने प्रतिनिधि सभा नियमावलीमा उल्लेख छ ।सदन चालू नरहेको अवस्थामा भने सूचना पत्रमा सूचना प्रकाशन गरी जानकारी गराउनुपर्ने नियमावलीको नियम २२५ मा उल्लेख गरिएको छ । Source:lokaantar.com