मालिका गाउँपालिका–६ दिच्यामकी जसमति रोका गाउँमै सुरक्षा भत्ता पाइनेमा ढुक्क थिईन् । रोकाजस्तै दिलबहादुर सुनारले पनि भत्ताले दशैंको खर्च गर्ने योजना बनाएर गाउँमै बसेका थिए । दशैं नजिक आएपनि गाउँमा भत्ता लिएर नआएपछि दरबाङ बजारमा आएका बृद्धबृद्धा बैंक बन्द भएको देखेपछि निराश भए । भत्ताले दशैंको किनमेल गर्ने योजना बनाएका २५ जना बृद्धबृद्धालाई वडा अध्यक्ष सन्तनाथ सुबेदीले सापटी खोजेर उपलब्ध गराएपछि बृद्धबृद्धा खुसी हुदै फर्किएका छन् ।

‘उहाँहरुलाई समस्यामा देखेपछि तत्काललाई ब्यवस्था गरेको छु,‘उहाँहरुले बैंक खुलेपछि फिर्ता गर्नुहुन्छ’ उनले भने । सामाजिक सुरक्षा भत्तालाई वडास्तरमै वितरणको अभियान सञ्चालनलाई प्रभावकारी बनाउनुपर्ने बताए । बृद्धबृद्धा, अशक्तलाई बजारसम्म आएर बुझ्न समस्या हुने भएकाले गाउँमै वितरण गर्न बृद्धबृद्धाले माग गरेका छन् । ‘बजारसम्म आउन समस्या छ,‘गाउँमै सेवा दिनुपर्छ’ बृद्धा चनमति पुनले भनिन् । वडा अध्यक्षले प्रति ब्यक्ति २५ सय देखि १२ हजारसम्म उपलब्ध गराएका थिए । यसैबीच जिल्लाका अन्य स्थानीय तहमा समेत बैकसम्म पुग्न नसक्ने अवस्थाका बृद्धबृद्धाले भत्ता बुझ्नबाट बन्चित भएका छन् ।