गाउँघरमा एउटा राँगोको मुल्य कति पर्ला ? ५० हजार, १ लाख वा त्यसको आसपासको मुल्य अनुमान गर्नुहुन्छ होला । तर, म्याग्दीको एक गाउँमा एउटा सानो राँगोको मुल्य २ लाख ८८ हजार परेको छ । म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतीको एतिँहासिक भगवती कोतमन्दिरमा महाअष्टमीको दिनमा सरकारी राँगोको मुल्य हरेक बर्ष दोब्बर हुने गरेको छ।

गतबर्ष १ लाख ८० हजार परेको राँगोलाई यसपटक यूवाहरूको कडा प्रतिस्पर्धा नागनागीका रामप्रसाद खत्रीले अन्तिम मुल्य तिर्ने तयार भएका हुन् । हरेक बर्ष राखुबासीको तिब्र प्रतिस्पर्धाबाट अन्तिम मुल्य तोकिने गरिन्छ ।‘मनोकामना पुरा हुने जनविश्वासले राँगोलाई आफ्नो पक्षमा पार्ने चलन छ,‘राजनीतिक रुपमै सक्रिय भएकाले पनि मुल्य तिर्छन्’ स्थानीय यूवा तिलु शर्मा पौडेलले बेनीअनलाइनलाई भने ।

गाउँपालिकाका जनप्रतिनिधि सहितको उपस्थिीतिमा भगवती, पिप्ले र मौवाफाँट तथा आसपासका क्षेत्रबाट पुगेका सर्वसाधारणको उत्साहजनक उपस्थितीमा खुल्ला रुपमै बडिबढाउ हुने गरेको छ ।दुईबर्ष अगाडी ८५ हजारमा मार हानिएका राँगाको मुल्य हरेक बर्ष दोब्बर हुदाँ मन्दिरको आम्दानी समेत बढेको पुजा ब्यवस्थापन समितिले जनाएको छ ।

महाअष्टमीको दिनको रातीसम्म सरकारी राँगो आफ्नो पक्षमा पार्ने होडबाजी नै चलेपछि २ लाख ५० हजारसम्म पुगेकालाई समेत खत्रीले आफ्नो लगातारको मुल्यलाई निरन्तता दिएपछि कसैले उछिन्न सकेनन् । भगवती मन्दिरमा महाअष्टमीके दिनमा बली दिने र महानमवीको दिनमा मार हान्ने चलन छ। महानवमीको दिनमा भगवती कोतमन्दिरमा हर्षबढाइँका साथै कोतपूजा र निशानपूजा पनि गरिन्छ । सरकारी राँगो तथा अन्य बलीबाट प्राप्त भएको आर्थिकले मन्दिरको पूजा ब्यवस्थापन सहित विविध कार्य गरिन्छ ।