रिया भण्डारी/काठमाडौं । पछिल्लो समय पशुपन्छीबाट मानिसमा सर्ने जुनेटिक रोगहरुले विकराल रुप लिँदै आएको छ । अध्ययन अनुसार मानिसमा लाग्ने सरुवा रोगमध्ये ७० प्रतिशत रोग पशुपन्छीबाट सर्ने गरेको छ । त्यसैले दशैंमा मासुका लागि पशुपन्छी किन्दा विशेष ध्यान पु¥याउन चिकित्सहरुको सुझाव छ ।

पशु र मानवबीच प्राकृतिक रुपमा सर्नसक्ने रोगहरु र संक्रमणलाई जुनेटिक रोग भनिन्छ । कडा खालको ज्वरो, पीपीआर, रेबिज, खोरेत र क्षयरोग लागेका खसीबोकाको मासु मानव स्वास्थ्यका लागि अत्यन्त घातक मानिन्छ । यस्ता रोगबाट प्रभावित खसीबोकाको मासु खाँदा मानिसको शरीरमा पनि त्यस्तै खालको रोग सर्ने प्रबल सम्भावना हुन्छ ।

रोगी नभएपनि एक वर्षको भन्दा बढी उमेरको खसी, दुई वर्षभन्दा बढी उमेरको रागा र छ महिनाभन्दा बढी उमेरको बंगुरको मासु स्वस्थ्यकर हुँदैन । अस्वस्थ्यकर मासुका कारण पटके, तुहिने, छारे, टाईफाईड, रेबिज, बर्डफ्लु, दाद, फिरफिरे, क्षयरोग, फिते जुका, इन्फुलन्जा, ट्राइकिभेला, ब्रसेल्ला, लिष्टेरिया, विएसइ सर्कोसिस लगायतका रोगहरु लाग्ने गर्दछ ।

यस्ता रोगहरु पशुको लसपस, दूध, दही, मासु र हावाको माध्यम बाट सर्ने गरेको छ । नेपालमा जनावरबाट मानिसमा सर्ने ६९ प्रकारका रोग पत्ता लागेको छ । त्यसैले खसी बोका लगायत पशु किन्दा स्वास्थ्य छ कि छैन भने बुझेर मात्र किन्न पशु चिकित्सकको सुझाब छ ।स्वस्थ तरिकाले गोठ, फर्ममा पालिएको पशुले खाने आहारादेखी खोप उपचार परजिवी नियन्त्रण जस्ता कुरामा ध्यान दिएर पालिएको पशु को मासु नै स्वास्थ्य हुन्छ । Source: News24nepal.tv