नेपालीहरुको मुख्य चाड बडादसैं सुुरु भएसँगै बेनी अस्पतालमा उपचार गराउन आउनेहरुमा भाइरल ज्वरोका बिरामीहरु धेरै रहेका छन् । पछिल्लोपटक बेनी अस्पतालमा खासगरी धेरै बिरामीहरु भाइरल ज्वरोका रहेको अस्पताल स्रोतले जनाएको छ ।

अस्पतालमा भाइरल ज्वरोसँगै छारेरोग, एलर्जी, फ्याक्चर भएका, आगोले पोलेका, दम बढेका, निमोनिया, टाइफाइड, पिसाबमा खराबी र श्वासप्रश्वाससम्बन्धी रोगका धेरै बिरामीहरु रहेका छन् । अस्पतालको इन्डोर कक्षमा खासगरी श्वासप्रश्वास, आगोले पोलेका तथा दमका रोग भएका बिरामीहरुले उपचार गराइरहेको बेनी अस्पतालका सिनियर अनमी रुविना थापाले जानकारी दिएकी छिन् ।

अस्पतालमा उपचार गराउन आउनेहरुमध्ये सबैभन्दा धेरै भाइरल ज्वरोका रहेकाले बिरामीहरुले झोलिलो खानेकुरा खाने, जीवनजल र प्रशस्त मात्रामा पानी पिउने तथा आराम गर्नुपर्ने बेनी अस्पतालका डाक्टर रविकान्त शाहले बताएका छन् । गर्मी समय सकिएर जाडो समय आउन लागेको अवस्थामा बिरामी पर्ने सम्भावना उच्च भएकाले स्वास्थ्यको ध्यान दिन चिकित्सकहरुले आग्रह गरेका छन् ।

अहिले बेनी अस्पतालको इमरजेन्सी कक्षमा दैनिक ४० देखि ५० जनाको हाराहारीमा बिरामीहरु उपचार गर्न आउने गरेको तथ्याङ्क रहेको छ । यसैगरी इन्डोर कक्षमा पनि भर्ना भएर उपचार गराउनेमा १० जनाभन्दा धेरै रहेका छन् । चाडबाडको समेत समय भएकाले सर्वसाधारणले खानपानमा पनि उचित ध्यान दिन आवश्यक रहेको स्वास्थ्यकर्मीको भनाइ छ ।