बलबान अशोक खत्री, लगातार सातपटकसम्म छेलोको उपाधी

(गोपाल आचार्य) म्याग्दीको ऐतिहाँसीक स्थल ताकमकोतमा आयोजना गरिने छेलो (ठेलो) फाल्ने प्रतियोगितामा लगातार सातपटकसम्म एकै ब्यक्तिले उपाधी आफ्नो पोल्टामा पार्न सफल भएका छन् । पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका वडा न. ७ मा अवस्थित ताकमकोटमा हरेक वर्षको वडादसैको अघिल्लो दिन महानवमी पर्वको अवसर पारेर आयोजना हुने प्रतियोगितामा ताकमका अशोक खत्रीले यसबर्षसँगै सातौ पटकसम्म उपाधी आफ्नै पक्षमा पार्न सफल भएको मन्दिर ब्यवस्थापन समितिले जनाएको छ ।

प्रतियोगितामा लगातार बिजयी भएका खत्रीलाई भब्य सम्मान गरिएको थियो । करिव ८ किलो तौल भएको ठेलोलाई करिब १० मिटर टाढा फालेर ‘माल’ घोषित खत्रीले सातबर्षदेखि लगातार आफ्नै पक्षमा उपाधी जितेपछि ताकमकोतमा पुगेका भक्तजनले समेत सम्मान गरेका थिए । विजेता खत्रीलाई फूलमाला, खादा, अबिर लगाएर सम्मान गरिएको थियो ।

विगतका तुलनामा उनले हरेकबर्ष छेलोलाई टाढा फाल्न सफल भएका छन् । प्रतियोगितामा १४ जनाको सहभागिता रहेको स्थानीय यूवा कृष्णराज पौडेलले बताए । ठेलो फालेर बिजयी हुनेलाई सो क्षेत्रमा पहलमान, बहादुरको उपाधी दिने भएकाले पनि हरेक बर्ष यूवाहरुले आफ्नो पक्षमा नतिजा ल्याउन निकै प्रयास गर्ने गरेका छन् ।‘मैले हरेकबर्ष उपाधीका लागि निकै मेहनत गर्छु,‘यो मेरो रुचीको विषय पनि हो’ खत्रीले भने ।

उनका दाजु दलबहादुर खत्रीले समेत विगतमा ताकमकोटमा छेलो फालेर शक्तशालि ब्यक्तिको उपाधी पाएका थिए ।गाउँपालिका उपाध्यक्ष रेशम छन्त्यालको प्रमुख आतिथ्यता, अध्यक्षता वडा अध्यक्ष कलानिधी शर्माले गरेका थिए ।ताकमकोट मन्दिर पुननिर्माण समितिको अध्यक्ष तेजेन्द्र थापा, सचिव होम थापाले सञ्चालन गरेका थिए । सोही अवसरमा मन्दिरको पूननिर्माणका लागि ४ लाख ७३ हजार ५ सय २५ रुपैयाँ आर्थिक संकलन समेत गरिएको थियो ।

ताकमकोत, जगन्नाथ अन्नपूर्ण मन्दिरमा बाईसे चौबीसे राज्यका पालामा थापा राजाले दुई सय बर्ष राज्य सञ्चालन गरेको ताकमकोतमा प्रत्येक वर्ष महानवमी पर्वको पुजा गरेपछि परम्परागत रुपमा पहलमान पहिचान गर्न ठेलो फाल्ने प्रतियोगिता आयोजना हुदै आएको छ । समुन्द्री सतहदेखी दुई हजार ६ सय मिटर उचाईमा अवस्थित मन्दिरबाट धौलागिरी, गुर्जा, चुरेन, पुथा, निलगिरी, अन्नपूर्ण लगाएतका हिमश्रंखला, घना जंगल, ग्रामिण बस्तीको अवलोकन गर्न सकिन्छ ।