म्याग्दीको बेनी नगरपालिका २ मा अवस्थित ऐतिहाँसिक र पुरातात्विक स्थल ज्यामरुककोटको खड्भवानी कोतमा आज बली सहित महानवमीको विशेष पूजा सम्पन्न भएको छ । घटस्थापनाको दिनदेखि नियमित विशेष पूजा हुँदै आएको ऐतिहाँसिक खड्गभवानी कोतमा आज (नवमीमा) राँगा,बोका र फुर्से कुभिण्डोको बलि दिएर विशेष पूजा गरिएको हो ।

बेनी नगरपालिका २ का वडाअध्यक्ष हिराबहादुर थापाको विशेष उपस्थितिमा सम्पन्न पूजामा खड्गभवानी कोट पूजा तथा गुठी व्यवस्थापनसमितिका अध्यक्ष रामकृष्ण घिमिरेले कोतका पूजारी,उपासु,भक्तजन र उपस्थित ज्यामरुककोटवासीलाई धन्यवाद दिँदै धार्मिक तथा सांस्कृतिक पर्व बडा दशैंको शुभकामना व्यक्त गरे ।

त्यसैगरी वडाअध्यक्ष हिराबहादुर थापाले पुरातात्विक र ऐतिहाँसिक महत्वको ज्यामरुककोट स्थित खड्ग भवानी कोतको विकास र संरक्षणका लागि नगरपालिका र वडाले पनि विशेष ध्यान दिएको बताउँदै खड्गभवानी कोतलाई जिल्लाकै ऐतिहाँसिक र पर्यटकीय स्थलको रुपमा विकास गर्न सबैको साथ र सहयोगको आवश्यकता रहेको औल्याए ।
सोही अवसरमा बाजागाजा सहित कोत परिसर परिक्रममा गरी नवदुर्गा भवानीको विशेष पूजा आराधना गरिएको थियो । राँगो र बोकाको बलि दिने दुईजनालाई साफा गुथाएर सम्मान गरिएको थियो ।

यस्तो छ ऐतिहाँसिक ज्यामरुककोटको इतिहाँस
ज्यामरुककोटको इतिहाँस १५ औं शताव्दीको विरासतसंग जोडिएको छ । १५औं शताव्दीको प्रारम्भसंगै थापाहरुले राज्य गर्नथाले पछि अस्तित्वमा आएको ज्यामरुककोटमा रहेको (खड्गभवानी कोत)का दुर्लभ हातहतियार र अभिलेखहरुको यसको ऐतिहाँसिक महत्वलाई स्पष्टसंग बुझाएका छन् । सो कोतमा ५ सय ७५ वर्ष पहिलेका मल्ल र थापा राजाहरुका अभिलेख रहेका छन् ।

ज्यामरुककोटमा विक्रमसम्वत १२४६देखि १५४५ सम्म थापाहरुले राज्य गरेका र १५४५को भदौ महिनामा थापाहरुको पुख्यौली थलो मानिएको ताकम डिम्वमल्लले कव्जागरेपछि ज्यामरुककोट, पुलाचौर, कुहू र राखुका थापाराजाहरुले आफ्नो खाइपाइआएको राज्य छोडेर मल्ल राजाहरुका मन्त्री र सेना वनेका र थापा राज्यको अन्त्यभएको इतिहाँसमा उल्लेख भएको बेनी नगरपालिका २ ज्यामरुककोटका वडाअध्यक्ष हिरावहादुर थापाले बताए ।

स्थानीय निकाय लामो समयसम्म जनप्रतिनिधि विहीन रहेकाले सम्भावनाहरु हुँदाहुँदै पनि विकास हुन नसकेको बताउँदै बेनी नगरपालिका २ का वडा अध्यक्ष थापाले आफ्नो पहिलो प्राथमिकता यस क्षेत्रका पर्यटकीय पर्यटकीय स्थलहरुको विकास गर्ने रहेको बताए । करिब ५ रोपनी क्षेत्रफलमा रहेको सो स्थानमा थापा र मल्ल राजाहरुको ताम्रपत्रमा अंकित इतिहाँस,तोप , खुडाँ,तरवार लगाएतका हातहतियार, प्राचिन शिला र इट्टा, खजाना लुकाउने ठाउँ र पानीका लागि बनाइएको राजकुवा अहिले अस्तव्यस्त अवस्थामा रहेका छन् ।

कोटडाँडोसम्म मोटरबाटोको सुविधा हुने र त्यहाँ एउटा भ्यू टावर निर्माण गरेर त्यस क्षेत्रको पर्यटकीय र प्राकृतिक सौन्दर्यको बारेमा प्रचारप्रसार गर्न सक्ने हो भने अन्नपूर्ण र धौलागिरि क्षेत्रको भ्रमणका लागि बेनी आएका २५ प्रतिशत पर्यटकहरु त्यहाँ पुग्न सक्ने स्थानीय बुद्धिजीवि एवम् खड्गभवानी कोत संरक्षण एवम् गुठी व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण घिमिरेले बताए ।

पर्यापर्यटनको प्रचूर सम्भावना
त्यसैगरी ज्यामरुककोट जैविक विविधताले पनि सम्पन्न रहेको छ । ‘आग्र्या्निक खेती, ठूलाखोलाबाट ल्याइएको चीसो पानी, विभिन्न पंक्षी, मह, भटमास, कालोदाल, स्थानीय जातका खसी,कुखुरा र हाँस, चिबे, कालिज र तित्रो, बनढुकुर र बन कुखुरो, तरुल,भ्याकुर र शखरखण्ड यहाँ प्रशस्त मात्रामा पाइन्छन् । जै,कोदोबाट बनाइने विभिन्न परिकारहरुले यहाँको पहिचान झल्काउँछन्’ वडाअध्यक्ष थापाले बताए ।

ब्राह्मण,क्षेत्री,ठकुरी,कुवँर,चर्मकार,विक,दर्जी,गुरुङ,मगर लगाएतका जातजातिहरुको बसोबास रहेको यो ठाउँ सांस्कृतिक विविधताले समेत युक्त रहेको छ । ज्यामरुककोटको गौश्वारा गाउँमा अवस्थित राधाकृष्ण मन्दिरमा प्रत्येक वर्ष कृष्णजन्माष्टमी पर्वमा लगाइने मेला यस क्षेत्रको प्रमुख मेला हो ।ज्यामरुककोटको खड्गभवानी कोतमा रहेका पुराना हातहतियारहरुको उचित संरक्षण हुन नसक्दा खुँडा, खुकुरी , भाला, तरवार , ढाल लगाएतका औजारहरुमा खिया लागेको छ भने कोट परिसर युवायुवतीहरुको क्रिडास्थल र केही टाँठावाठाहरुको व्यक्तिगत सम्पत्तिजस्तै वनेको वडाअध्यक्ष थापाको भनाइ छ ।

विज्ञापन