भिषण बर्षाले मान्यजनबाट टीका ग्रहण गर्न हिडेका अलपत्र परे

हिन्दू नेपालीको महान् चाड बडादशैंमा मान्यजनबाट टीका र आशिर्वाद ग्रहण गरी हिडेकाहरु भिषण बर्षाले अलपत्र परेका छन् । मौसम बदली भएर दिउँसो करिव एकबजेदेखि भइरहेको बर्षाले सर्वसाधारण बाटोमै रोकिएका छन् । लगातारको दुईघण्टाको भीषण बर्षाले सर्वसाधारण बाटोमै अलपत्र परेका थिए भने ग्रामिण क्षेत्रको सडक समेत हिलाम्मे भएको छ । पश्चिम क्षेत्रबाट एक्कासी भडूलो पानी परेपछि पैदल र मोटरसाईकलमा सवार यात्रु समस्यामा परेका हुन् ।

‘दिउँसोसम्म मौसम सफा थियो,‘एक्कासी पानी परेपछि गन्तब्यमा पुग्नै समस्या भयो’ बेनी–अर्थुङ्खेमा अलपत्र परेका एक यूवाले भने ।  बेनीबजारबाट ग्रामिण क्षेत्रमा तर्फ लागेका सर्वसाधारण समेत जंगलमा अलपत्र परेका थिए। सवारीसाधन समेत नचल्दा यात्रु पानीमा भिज्दै गन्तब्य तर्फ लागेका छन् । दिउँसोपख हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको र केही ठाउँमा ठूलो पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् विभूति पोखरेलले बताईन् ।

पानी पर्ने भएकाले दशैँको टीका लगाउन जाँदा सतर्कता अपनाउनुपर्ने बताईन् । आज र भोलि केही नदीमा पानीको बहाव बढ्न सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । छिनछिनमा मौसम परिवर्तन भइरहेकाले आवश्यकता अनुसारको तयारी गरी हिड्न समेत मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । बर्षाले महिला, बालबालिका तथा जेष्ठ नागरिकलाई धेरै सास्ती भएको छ । ग्रामिण क्षेत्रमा सडक मर्मत गरिएपनि सोमबार र आज परेको बर्षाले सडक समेत जोखिम बनेको छ ।