असिनाले धान झारेपछि नल (पराल) मात्रै बाँकी, ज्यामरुककोटमा मात्रै ७५ लाखको क्षती (फोटो फिचर)

म्याग्दीको बेनी नगरपालिका वडा नं २ ज्यामरुककोटमा मंगलवार वडा दशैंका दिन परेको भीषण असिनाका कारण भित्राउने बेलाको १५ हजार मुरी धान उत्पादन हुने खेतमा पूर्ण क्षति पुगेको छ ।

खेतबारीमा पाकेको, दशै लगत्तै काट्ने तयारीमा रहका धानखेतीमा क्षती पुगेपछि किसान चिन्तित भएको वडा अध्यक्ष हिराबहादुर थापाले बताउनुभयो ।

असिनाका कारण ७५ लाख वरावरको धानवालीमा क्षति पगेको स्थानीयको भनाई छ । मंगलवार अपरान्ह २ बजेदेखि परेको भीषण असिनाका कारण ज्यामरुककोटको गौश्वारा,तमाने,विमिराबोट,फापरखेत लगाएतका ठाउमा लगाएको धानबाली,कोदो,फलफूल लगाएतको बालीमा क्षति पुगेको हो ।

असिनाका कारण स्थानीय भद्रवहादुर रिजालको ५२ मुरी धान उत्पादन हुने खेतको धान वाली पूर्ण रुपमा क्षति पुगेको छ। त्यसैगरी डम्मरवहादुर पोख्रेलको २५ मुरी,लिला जौसीको २५ मुरी,चन्द्रकान्त शर्माको २५ मुरी,लगाएत सयौं किसानको खेतमा लगाएको धान बालीमा क्षति पुगेको हो । ज्यामरुककोटको गौश्वारा,तमाने र विमिराबोट क्षेत्रका ३ सय घरपरिवारमध्ये १ सय ५० घरपरिवारको खेतमा लगाएको धानबालीमा पूर्ण क्षति पुगेको छ भने १ सय ५० परिवारको खेतमा भने आंशिक क्षति पुगेको बेनपा २ का वडा सदस्य डम्मरवहादुर पोख्रेलले बताउनुभयो ।

असिना पीडित भद्रवहादुर रिजालका अनुसार ५२ मुरी धान उत्पादन हुने खेतमा लगाइएको धान असिनाले एक दाना पनि काम नलाग्ने गरी झारेको छ । खेतमा धानको नल मात्र बाँकि रहेको छ भने दाना एउटा पनि छैन । असिनाका कारण १५ हजार मुरी धान क्षति पुगेको र यसवाट कृषकलाई ७५ लाख बराबरको नोक्सान भएको छ । वडा कार्यालयमार्फत बेनी नगरपालिकालाई विपदकालीन वैठक वसेर क्षतिको यथार्थ विवरण संकलन कार्य भैरहेको र एक दुई दिन भित्रमा वास्तविक क्षतिको विवरण सार्वजनिक गर्न समेत कृषकले माग गरेका छन् ।

असिनाले धान खेती सखाप पारेपछि स्थानीय कृषकहरु चिन्तित बनेका छन् । उनीहरुले राहत पाउन नसकेमा भोकै मर्नुको विकल्प नरहेको बताएका छन् । यसैबीच जिल्लाको मंगाल गाउँपालिका ३ बरंजामा समेत असिाना पानीले सुन्तलाबारी सखाप पारेको छ । बेनी नगरपालिका, मंगला, गाउँपालिकाभित्रका धानखती भएको क्षेत्रमा असिनाले धान झारेपछि नल (पराल) मात्रै बाँकी रहेको धानको बोट मात्रै देखिन्छ ।

धान बटुल्नै नमिल्नेगरि झारेपछि किसानले राहतको माग गरेका छन् । जिल्लामा कुल खेतीयोग्य जमिनमध्ये ३ हजार ८ सय ९५ क्षेत्रफलमा धान खेती हुन्छ । जिल्लामा स्थानीय जातका गौरिया, गुडुरा, ताकमारे, मार्सी, भट्टे लगाएतका आयातित विकासे जातका अन्नपूर्ण ३, छमरुङ, खुमला ४, खुमला १० लगाएतका जातका धान रोप्दै आएका छन् । समयमै पानी नपर्नु, सिचाईँको असुविधा, मनसुनको भर पर्नुपर्ने बाध्यताले गर्दा रोपाईँ नभएकाले यसबर्ष करिव ७ हेक्टर धानखेती हुने जमिन बाँझै रहेको छ ।