म्याग्दीको सदरमुकाम बेनीमा चर्को आवाजमा मोटरसाईकल चलाउने चालकलाई ट्राफिक प्रहरीले धमाधम कारवाही गर्न थालेको छ । बेनीबजारको मुख्य चोकदेखि गल्ली–गल्लीमा चर्को आवाज निकाल्दै हुईकिने मोटरसाईकललाई निगरानीमा राखेर तत्कालै कारवाही सुरू गरिएको छ ।

भिडभाड तथा बजार क्षेत्रमा मोडिफाई अर्थात स्वरुप परिवर्तन गरी चलाउने ग १६ प ३०६५ नं को क्रस फायर र ध १ प ५९११ नम्बरको भीआर को चालकलाई कारवाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी जवान बैकण्ठ पौडेलले बताए । उनका अनुसार स्वरुप परिवर्तन (मोडिफाई) गरेका तथा अस्वभाविक आवाज आउने गरी चलाइरहेको अवस्थामा नियन्त्रणमा लिएर सामान्य अवस्थामा फर्काउने लिखित प्रतिबद्धतामा हस्ताक्षर गरी छोडिएको बताए। उनले पुनः अटेर गरेमा १५ सय सम्म जरिवाना लिने बताए ।

बेनीअनलाइन र बेनी साप्ताहिकले बम जस्तै पड्किने मोटरसाईकलको आतंकका बारेमा केहीसाता अगाडी प्राथमिकताका साथ समाचार प्रकाशित गरेको थियो । ट्राफिक प्रहरीको तथ्याङ्कमा रोयल इन्फिल्ड (बुलेट) बाइक, क्रस फायर, होन्डा डर्ट बाइक, एक्स क्रस, हार्टफोर्ड भीआर,लगायत बाइक मोडिफाइड गर्ने गरिएकाले कारवाही गरिएका मोटरसाईकलमा चालक तथा अन्य विभिन्न माध्यमबाट मोडिफाई गरेका मोटरसाईकलको नम्बर समेत संकलन गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

बाइकबाट फिल्टर निकाल्ने, साइलेन्सर पाइप झिक्ने, बाइकको उचाइ बढाउने र चर्को आवाज निकाल्नेजस्ता गतिविधिलाई पूर्णरुपमा नियन्त्रण गर्ने जनाएको छ ।यसैबीच बजार क्षेत्रमा ट्राक्टरको गति नियन्त्रणको अभियानलाई समेत तिब्रता दिएको जनाएको छ । सवारी तथा यातायात व्यवस्था ऐनमा सवारीसाधन मोडिफाइड गर्दा यातायात कार्यालयबाट स्वीकृति लिनुपर्ने व्यवस्था भएकाले सवारी धनीले ऐनको दफा ३९ बमोजिम सवारीको रङ, सिट संख्या, स्वरूप परिवर्तनका लागि कानुनी प्रक्रिया पुरा गर्नुपर्ने भएकाले निरन्तर चालकले समेत स्वरुप परिवर्तन गर्ने गरेमा कानुन अनुसार कडा कारवाही गर्ने जनाएको छ ।