चाडपर्वमा सीट क्षमता तीन गुणा बढी यात्रु बोकेर ग्रामिण सडकमा गुड्ने सवारीसाधनका कारण दुर्घटनाको जोखिम बढेको छ । म्याग्दीको सदरमुकाम बेनी हुदै जिल्लाका विभिन्न कच्ची सडकमा क्षमताभन्दा धेरै यात्रु बोक्ने सवारीसाधनका कारण जोखिम बढेको हो । भौगोलिक विकटतासंगै अब्यवस्थित कच्ची सडकमा सिट बाहेक बाहिर र छतमा समेत यात्रु राखेर यात्रा गर्ने गरिएको छ ।

दशैंमा गाउँ फर्किएका सर्वसाधारणलाई क्षमताभन्दा धेरै यात्रु राखेर यात्रा गराउने गरेको गुनासोपछि ट्राफिक प्रहरीले समेत ग्रामिण सडकमा निगरानी बढाएको छ । ग्रामिण सडकमा चल्ने सवारीसाधनको गुनासो धेरै छ,‘नियम उल्लंघन गर्नेलाई थप कारवाहीका लागि सिफारिस गछौं’ प्रहरी नायव उपरिक्षक महेन्द्रप्रसाद मरासिनीले भने । उनले बजार क्षेत्रका साथै ग्रामिण बस्तीमा समेत ट्राफिक प्रहरी, इलाका र प्रहरी चौकी मार्फत सवारीसाधन चेकजाँचलाई कडाई गरिएको बताए ।

क्षमताभन्दा धेरै यात्रु बोक्ने सवारीसाधनलाई ५ हजार सम्म जरिवाना सहित कारवाहीका लागी यातायात ब्यवस्था कार्यालयमा सिफारिस गर्ने बताए। क्षमताभन्दा धेरै यात्रु र मनपरी भाडा लिएमा ट्राफिक प्रहरी कार्यालयमा रहेको शुल्क नलाग्ने १०३ नम्बरमा खवर गरेलगत्तै ट्राफिक प्रहरीको टोली नै पुग्ने बताए ।

भिरालो सडक, बर्षाले भत्किएको सडकमा क्षमता भन्दा धेरै यात्रु बोक्ने गरिएको छ । यता ट्राफिक प्रहरी बैकुण्ठ पौडेलले मनपरी भाडा असुल्ने र क्षमताभन्दा धेरै यात्रु बोक्ने सवारीसाधनलाई कारवाही गर्ने गरिएको बताए । उनले जिल्लाभित्रका साथै छिमेकी जिल्ला हुदै जाने सवारीसाधनलाई समेत कारवाही गरिएको बताए । गत आवमा ग्रामिण क्षेत्रमा दुर्घटना भएका यात्रुबाहक सवारीसाधन अधिकांस क्षमताभन्दा धेरै यात्रु बोकेका छन् ।

विज्ञापन