व्यावसायिक मौरीपालनबाट वार्षिक सातलाख आम्दानी, मह खरिद गर्न ग्राहक घरमै आउँछन्

बेनी नगरपालिका–५, डडुवाका मिनबहादुर खत्री र रामकुमारीले व्यावसायिक मौरीपालनबाटै राम्रो आम्दानी गर्दै आइरहेका छन् । रेडियो नेपालबाट प्रसारण हुने कृषि कार्यक्रममा मौरीपालन व्यवसायका विषयमा सुनेपछि २०५० सालबाट मौरीपालन सुरु गरेका उनीहरुले मनग्गे आम्दानी गरेका हुन् । कृषि व्यवसायमा रुचि भएका कारण मिनबहादुरले मौरीपालनका विषयमा बुझेपछि तत्कालीन जिल्ला कृषि विकास कार्यालयमा गएर जानकारी लिएका थिए ।

तर, त्यहाँ मौरीपालनसम्बन्धी कुनै पनि कार्यक्रम थिएन । त्यसपछि उनले भकिम्लीमा पुगेर तीनसय रुपैयाँमा मौरीपालनका लागि एउटा काठको घार खरिद गरेर ल्याएका थिए । पछि गाउँबाटै सातसय रुपैयाँमा मौरीसहितको घार किनेर मौरी पाल्न सुरु गरेका थिए । सुरुमा तीनवटा घारमा मौरीपालन सुरु गरेका खत्री दम्पतिले २०६० सालसम्म मौरी मात्रै बिक्री गर्दै आए पनि त्यसपछि मह, मौरीसहितका घार र महका पोला बिक्री गरेको बताएका छन् ।

अहिले उनीहरुसँग डडुवासहित विभिन्न स्थानमा गरी कुल ७२ ओटा मौरीका घार रहेका छन् । डडुवामा आफ्नै घरमा १५, भीरमुनीमा १६, सल्यान र नेप्टेचौरमा १५÷१५, चिप्लेटीमा ७ र गाजनेमा ४ ओटा मौरीका घार रहेको मौरीपालका कृषक रामकुमारी खत्रीले जानकारी दिएकी छिन् । ती ठाउँमा रहेका सबै घारमा मह उत्पादन भैरहेको छ ।

खत्री दम्पतिले सिद्धीविनायक मौरीपालन केन्द्र दर्ता गरी स्थानीय एपिसेरेना जातको मौरी व्यावसायिक रुपमा पाल्दै आइरहेका छन् । डडुवामा उत्पादित मह खरिद गर्नका लागि फोन सम्पर्क गरेर व्यापारीहरु घरमै आउने गरेको कृषक खत्रीको भनाइ छ ।

विदेश जानेहरु तथा उनीहरुका आफन्तहरुले पनि मह खरिद गरेर लैजाने र पठाउने गरेका छन् । आफ्नो घरमा मह किन्न विदेशी पर्यटक जापानबाट समेत आएको रामकुमारीले बताएकी छिन् । डडुवामा उत्पादन भएको मह म्याग्दीसहित मुस्ताङ, पोखरा, काठमाडौं हुँदै कोरिया, साउदीअरब, बहराईन, कतार र युरोपका देशमा पुग्ने गरेको छ।

माग अनुसार मह आपूर्ति गर्न नसकेको बताउँदै कृषक खत्रीले बिक्रीका लागि बजारको समस्या नभएको बताइन् । प्रतिकेजी महलाई एकहजार पाँचसय रुपैयाँका दरमा बिक्री गर्ने गरेको उनको भनाइ छ । उनका अनुसार मौरीसहितको घारलाई सातहजार पाँचसय र मौरी मात्रै चारहजार रुपैयाँमा बिक्री हुँदै आएको छ । मह, मौरीका पोला, मौरीसहितका घार र मौरी बिक्रीबाट वार्षिक सातलाख रुपैयाँ आम्दानी हुने गरेको उद्यमी रामकुमारी खत्री बताउँछिन् ।

अनुकुल मौसम, प्रशस्तै फुल फुलेको समय, मजबुत गोला भएमा उत्पादन अत्यधिक हुने र वार्षिक सरदर न्युनतम डेढ क्वीन्टलदेखि दुई क्वीन्टल बढी मह मात्रै बिक्री गर्न सकिने कृषक मिनबहादुरले बताए । हरेक वर्षको जेठ, मंसिर र चैत महिनामा मह निकाल्ने गरिन्छ । मौरीलाई मह बनाउनका लागि तोरी, पैयुँ, गुराँस, जनमन्द्रो, चुत्रो, औसलु, धाईरो, मथाइनो, चिउरी, दुधिलोलगायत फुलहरुको आवश्यक पर्दछ ।