राष्ट्रपति भण्डारीद्वारा चिनियाँ समकक्षी सीको विमानमा नै पुगेर स्वागत, सीको नेपाल भ्रमण आरम्भ

नेपाल भ्रमणमा आइपुग्नु भएका चिनियाँ राष्ट्रपति सी जिनपिङलाई राष्ट्रपति विद्यादेवी भण्डारीले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नु भएको छ । साँझ ५ बजेर ११ मिनेटमा एयर चाइनाको विशेष विमानबाट विमानस्थलमा उत्रदा राष्ट्रपति भण्डारीले विमानमा नै पुगेर स्वागत गर्नु भएको हो ।

राष्ट्रपति सीलाई त्यसपछि पञ्चकन्याले फूलमालाले स्वागत गरेका थिए । नेपाली सेनाले विशेष सलामी अर्पण गरेको थियो । सलामी अर्पणपछि राष्ट्रपति सीलाई उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत सरकारका विशिष्ट अधिकारीले स्वागत गर्नु भएको थियो ।निकै प्रसन्न मुद्रामा विमानस्थलमा उत्रनु भएका राष्ट्रपति सीको स्वागतमा विमानस्थलमा विशेष व्यवस्था गरिएको छ ।