चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाललाई ‘भूपरिवेष्टित’ बाट ‘भूजडित’ मुलुक बनाउने मुख्य माध्यम हिमालय सीमापार रेल हुने उल्लेख गरेका छन् । उनले आइतबार नेपाली पक्षसँगको द्विपक्षीय वार्तामा लाओसको उदाहरण प्रस्तुत गर्दै यस्तो धारणा राखेका हुन् ।

नेपालजस्तै भूपरिवेष्टित मुलुक लाओस पनि रेल कनेक्सनका कारण भूजडित बन्ने क्रममा रहेको उनको भनाइ थियो । वार्तामा सहभागी एक मन्त्रीका अनुसार राष्ट्रपति सीले केरुङ-काठमाडौं रेल निर्माणको विषय आफ्नो उच्च प्राथमिकतामा रहेको उल्लेख गरेका थिए । उनले नेपालमा रेलको कुरा अब छलफल र बहसको विषय नै नभएको, बरु त्यसलाई कसरी ल्याउने भन्नेतर्फ ध्यानकेन्द्रित भइरहेको बताए ।

‘अब प्राविधिक रूपमा कसरी ल्याउन सकिन्छ भन्नेतर्फ हामी केन्द्रित हुनुपर्छ,’ राष्ट्रपति सीले भने । सन् २०१६, २०१८ र २०१९ मा रेलको विषयमा छलफल भइसकेकाले अब त्यही आधारमा सम्भाव्यता अध्ययनको चरणमा प्रवेश गरिएको उनले जानकारी दिए । दुई देशको संयुक्त विज्ञप्तिमा केरुङ-काठमाडौं रेललाई पोखरा हुँदै लुम्बिनी पुर्‍याउने सैद्धान्तिक प्रतिबद्धता जनाइएको छ ।

रेल ल्याउने प्रयासकै लागि यसअघि पूर्वसम्भाव्यता अध्ययन भएको राष्ट्रपति सीले बताए । पूर्वसम्भाव्यता अध्ययनअनुसार हिमालय पार गरेर रेल ल्याउन निकै चुनौतीपूर्ण देखिए पनि चीनले विकास गरेको प्रविधिले त्यो चुनौती सामना गर्न सक्ने सीले विश्वास व्यक्त गरेका थिए । याे खबर आजको कान्तिपुर दैनिकमा छ।