म्याग्दीको सदरमुकाम बेनीका नेवार समुदायका युवायुवती माङ्गलिक कार्यमा प्रयोग गरिने लोपोन्मुख धिमेबाजाको संरक्षणमा जुटेका छन् । बेनीबजारमा विभिन्न सार्वजनिक तथा उत्सव, चाडपर्वमा बाँसुरी, मादल र झ्यालीको प्रयोग गरि मङ्गल धुन, धिमे बाजा र झ्यालीमा नेवार समुदायका युवायुवतीदेखि वृद्धवृद्धा सक्रिय हुने गरेका छन् ।

‘धिमे बाजां’ नेवार समुदायमा शोकबाहेक अन्य सबै शुभकार्यमा बजाइने बाजा भएको नेपाल भाषामंकाःखलअन्तर्गतको ल्याम पुचःका अध्यक्ष सवीन श्रेष्ठले बताउनुभयो । धिमे बाजा र बाँसुरी बादनसम्बन्धी प्रशिक्षणसमेत दिइएको बताउँदै पछिल्लो समय युवापुस्ताको आर्कषण बढ्दै जान थालेपछि सहज भएको उहाँको भनाइ छ ।

आफ्नो भाषा र संस्कृति लोपोन्मुख अवस्थाबाट जोगाउन आवश्यकताअनुसार काठमाडौँबाट प्रशिक्षकसमेत बोलाएर तालीम दिएपछि सक्रियता बढेको उहाँको भनाइ छ । नेवार समुदायले नयाँ वर्ष, विजयादशमी, दीपावली, गाईजात्रालगायत पर्वमा यो बाजा बजाउने गर्दछन् ।तत्कालीन समयमा काठमाडौँ र भक्तपुरे नेवार समुदायमा पुरुषले मात्रै धिमे र बाँसुरी बजाउने चलन रहेको अवस्थामा पछिल्लो समय महिलाले समेत नियमित बजाउन थालेपछि सहज भएको छ ।

बेनीको कला र संस्कृतिको अधिकांश हिस्सा नेवार समुदायले धानेको छ । बेनीमा विद्यालयस्तरमा अध्ययनरत विद्यार्थीले नै रहरलाग्दो गरी बाँसुरी बजाउन थालेपछि नेवार समुदायका अगुवा उत्साहित भएका छन् ।नेवार समुदायमा बुबाको मुख हेर्ने, आमाको मुख हेर्ने, देगु पूजा, गुँ पुन्ही, येँया पुन्ही, चथाः, दशैँ, तिहार, म्हःपूजा, पाँहाचह्रे, योमरी पुन्हीलगायत चाडपर्वमा मौलिक बाजा बजाउने र हर्षोल्लास मनाउने चलन छ ।