रोजगारका सिलसिलामा विभिन्न देशमा गएका म्याग्देलीले दशैंतिहारलाई लक्षित गरी करिव ५० करोड रेमिटेन्स भित्रिएको छ। शिक्षा, रोजगार, ब्यापारको सिलसिलामा बैदेशिक रोजगारमा गएकाले दशैंतिहामा घरायसी तथा अन्य प्रयोजनमा खर्च गर्ने गरी असोज महिनाको अवधिमा करिव ५० करोडको हाराहारीमा रकम पठाएको म्याग्दीका सेवाप्रदायक संस्थाले जनाएको छ । असोज महिनाको पहिलो सातासम्म सामान्य भिडभाड रहेका वित्तिय संस्थामा दशैं नजिक सामान्य अवस्था भन्दा चार गुणा बढी रेमिट्यान्स भित्रिएको गरिमा विकास बैंक बेनी शाखाका प्रवन्धक कमलप्रसाद ढुंगानाले बताए ।

‘बेनी शाखाबाट मात्रै ५ करोडभन्दा बढी भुक्तानी भयो,‘तिहारको समयमा पनि भिड नै हुन्छ’ ढुंगानाले भने । जिल्लामा चारवटा शाखा रहेको गरिमाको बेनी शाखाले मात्रै दशैंको अवधिमा पश्चिम म्याग्दीको बावियाचौर र दरबाङ र उत्तरी म्याग्दीको पोखरेबगर शाखाबाट समेत अत्याधिक रेमिट्यान्स भुक्तानी गरिएको बैंकले जनाएको छ । गरिमाले बार्षिक करिव एक अर्वको हाराहारीमा गरिमाले रेमिट्यान्स भुक्तान गर्ने बताउँदै यसबर्ष विगतको तुलनामा बढेको जनाएको छ । रेमिटेन्सको ठु्लो हिस्सा चाडपर्वमा घरखर्च, लत्ताकपडा सहित अनुत्पादक क्षेत्रमा खर्च हुने गरेको छ ।

जिल्लामा रहेका सेवाप्रदायक संस्थाले दिएको तथ्याङ्क अनुसार प्रतिब्यक्ति न्यूनतम १० हजारदेखि ५ लाखसम्म वितरण भइरहेको लोकदिप बचत तथा ऋण सहकारीका प्रबन्धक नेत्रराज सुबेदीले बताए । ‘चाडपर्वलाई मात्रै पठाउनेहरु धेरै छन्,‘केहीले रेमिट्यान्स कम्पनीको अफर हुने भएकाले पनि ठूलो संख्यामा पठाउछन्’ सुबेदीले भने । उनले सहकारीमार्फत दुईसाताको अवधिमा करिव ४५ लाख भुक्तानी गरेकोमा अधिकांस खाडी देशबाट आएको बताए । सहकारीमार्फत बार्षिक ६ करोडको रेमिट्यान्स वितरण गर्ने गरिएपनि दशैंको सिजनमा अत्याधिक रहेको सुबेदीको भनाई छ ।

जिल्लामा सहकारी तथा ठुला वित्तिय संस्थाले सदरमुकाम बेनीबजारसहित पश्चिम म्याग्दीको बाबियाचौर, दरबाङ, ताकम क्षेत्रबाट धेरै रेमिटेन्स भुक्तानी भएको देखिन्छ । दसैमा बजार क्षेत्रमा अत्याधिक भिडभाड भएपनि तिहारमा नभएकाले त्यसको असर रेमिट्न्समा देखिएको धौलागिरी बचत तथा ऋण सहकारी संस्थाका प्रबन्धक बसन्तकुमार श्रेष्ठले बताए । उनले सहकारीका जिल्लाभित्र शाखा विस्तार गरेका दुई र छिमेकी मल्लाज शाखाबाट समेत करिव ४ करोड रेमिट्यान्सको कारोबार भएको बताए ।

त्यस्तै पश्चिम दरबाङ सहकारीले मुख्य कार्यालय दरबाङ सहित बेनीबाट, प्रभु बैकका पाँचवटै स्थानीय तहमा रहेका शाखा, बुद्ध सहकारी, बेनीबचत, मुक्तिनाथ, रिहगाद सहकारी संस्था सहित करिव एकदर्जन सहकारीले चार करोड रुपैयाँको हाराहारीमा रेमिटेन्स भुक्तानी गरेको सम्बन्धित वित्तीय संस्थाले जनाएका छन् । जिल्लाका ५ वटा गाउँपालिकाका गाउँगाउँमा सहकारी भएकाले पनि दुर्गमका जनताले सहकारीबाटै लिने गरेका छन् । ५० लाख रुपैयाँ रेमिटेन्स भुक्तानी सहकारीको संख्या १३ भन्दा बढी छन् ।

कतार, साउदी, दुवै, दक्षिण कोरिया, जापान, भारत, मलेसिया लगाएत विभिन्न विकशित मुलुकबाट रकम भित्रिने गरेको छ। रेमिटेन्सबाट आएको रकम विलासिताका सामान खरिद र बालबालिकाको शिक्षादिक्षामा धेरै खर्च हुने गरेकाले पनि उत्पादनशिल क्षेत्रमा निकै न्यून लगानी हुने गरेको वित्तिय क्षेत्रका जानकार बताउँछन् । जिल्लामा निर्यातभन्दा आयात बढी भएकाले पनि जिल्लामा बार्षिक ४ अर्वको हाराहारीमा रेमिटेन्स भित्रिने गरेको भएपनि विभिन्न माध्यमबाट बाहिरिने गरेको छ। म्याग्दीको प्रमुख आयस्रोत नै रेमिस्ट्यान्स रहेको छ । म्याग्दीबाट करिव ३७ हजारभन्दा धेरै बैदेशिक रोजगारीमा रहेको अनुमान गरिन्छ ।

विज्ञापन