पश्चिम म्याग्दीको मालिका गाउँपालिका–४ ओखरबोटको भीरखानीमा रहेको विशाल तामाखानी अलपत्र अवस्थामा रहेको छ। २०३० सालमा तत्कालिन राजा विरेन्द्रले अवलोकन भ्रमणमा नेपालकै उत्कृष्ट तामाखानी घोषणा गरी संचालनमा ल्याउन हुकुम गरेको सो तामाखानी अझसम्म पनि संचालनमा आउन नसक्दा राज्यले वार्षिक करोडौंको राजस्व गुमाएको छ भने स्थानीयहरु रोजगारीबाट बञ्चित भएका छन् ।

वि.सं २००९ सालदेखि २०२८ सालसम्म नियमित संचालनमा रहेको र त्यसपछि खानी खन्ने सुरुङमा पानी भरिएपछि प्रविधिको अभावमा खानी खन्न बन्द गरिएको २०१७ सालदेखि २०२८ सालसम्म नियमित खानी खनेर तामा निकालेका ओखरबोटका ७९ वर्षिय दलबहादुर पटेलले बताए ।२०२८ सालसम्म यस तामाखानीमा दैनिक २ सय भन्दा बढि कामदरले काम गर्नुका साथै प्रत्येक दिन ७÷८ धार्नीसम्म तामा निकाल्ने गरिएको पटेलले बताए ।

२०२६ सालमा भारतको विडला कम्पनिबाट प्राविधिकहरु झिकाइ खानीको अवस्था बुझ्दा प्राविधिकहरुले त्यहाँ सुन खानी पनि हुनसक्ने बताएका तामाखानीका तत्कालिन ठेकेदार हाल मालिका गाउँपालिका ४ ओखरबोटका वडाअध्यक्ष दिलिप शेरचनले जानकारी दिए । त्यसको ४ वर्ष पछि स्व. राजा विरेन्द्र रानी ऐश्वर्य सहित २०३० साल मंसिर ७ गते तामाखानी अवलोकनका लागि ओखरबोटमा आएका र खानीलाई व्यवस्थित रुपमा संचालन गर्न हुकुम भएको उनको भनाइ रहेको छ।

त्यसपछि २०४२ सालसम्म फाट्टफुट्ट स्थानीयले खानी खनेर तामा निकाली विक्रि गर्दै आएकोमा ं २०४२ सालमा सरकारले कर बृद्धि गरेपछि कर तिर्न सक्ने अवस्था नहुँदा र तामाखानीबाट तामा निकाल्ने प्रविधि तथा उपकरणको अभावमा खानी वन्द गर्नुपरेको वडाअध्यक्ष शेरचनको भनाइ छ ।

त्यतिबेला अहिलेका वडाअध्यक्ष शेरचनले नै लाइसेन्स लिई खानी संचालन गर्ने ठेक्का लिएका ओखरबाटका ८३ वर्षिय दिलबहादुर घर्तीमगरले जानकारी दिए ।घर्तीमगरका अनुसार तामाखानीमा दुईवटा मुहान रहेका छन् । ती मुहानहरुको लम्वाई २५० देखि ५ सय मिटरसम्म रहेको छ । त्यहाँ अझैसम्म पनि तामाका धाउहरु देख्द सकिने घर्तीमगरले बताए ।

स्थानीय तहको निर्वाचन पछि वडाअध्यक्ष शेरचनले गाउँपालिकाको सिफारिस सहित ५ पटकसम्म काठामाण्डौस्थित खानी विभागमा गई खानी संचालनको लागि अनुमति माग्दा सरकारले अनुमति नदिएका कारण खानी संचालनमा आउन नसकेको बताए । ‘खानी संचालनका लागि मैले धेरै प्रयाश गरें,अध्यक्ष शेरचनले भने ‘तर,सरकारले खानी संचालनको अनुमति दिएन ।तामाखानीलाई राजनीतिक दलका नेताले स्थानीय तह, प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा आफ्नो चुनावी एजेन्डा बनाए ।

गाउँमा चुनावी भाषण गर्न गएका जिल्लादेखि स्थानीय नेताहरुले एउटै स्वरमा तामाखानीका बारेमा गरेका प्रतिबद्धता पुरा नहुदाँ स्थानीय निरास छन् ।्ओखरबोट गाउँबाट २० मिनेटको दुरीमा २ वटा तामाखानी रहेका छन् । दुईवटा खानीको करिव दुई किलोमिटरको सुरूङ खनेर २०२८ सालसम्म नियमित सञ्चालन गरिएपनि सरकारी उपेक्षा र आधुनिक प्रविधिको अभावमा कारण बन्द भएको तामाखानीका बारेमा एकबर्ष यता धेरै बोले पनि काम नभएको स्थानीय बुद्धिजीवि एवम् शिक्षक नविन पुनले बताए ।

खानी उत्खननका क्रममा प्रयोग गरिएका साम्रागी,पुराना काठका साथै खानीलाई बलियो बनाउन पुराना ढुङ्गाहरू समेत खानीभित्र रहेका छन् । यता मालिका गाउँपालिकका अध्यक्ष श्रीप्रसाद रोकाले प्रयास भएपनि सरकारी निकायबाट असहयोग रहेको बताए । खानी तथा भूगर्भ विभागबाट प्रक्रियालाई ब्यवस्थित बनाउन प्रदेश सरकारले खानी सम्बन्धित कानुन बनाउनुपर्ने जवाफ दिएको अध्यक्ष रोकाले बताए ।

चुपचाप स्थानीय तह
स्थानीय तहको निर्वाचनताका खानी संचालनको विषयमा निकै जोडतोडको साथ उठाइएको मुद्धा निर्वाचनबाट चुनिएका जनप्रतिनिधिले खासै चासो नदिएको स्थानीयको भनाइ रहेको छ । स्थानीय संचारकर्मी जगदिश रसाइलीले खानी संचालनका लागि स्थानीय जनप्रतिनिधिले दबाबमूलक कुनै काम गर्न नसकेको बताए ।

उसो त वडा अध्यक्ष दिलीप शेरचन तामा खानीका पुराना ठेकेदार पनि भएकाले त्यसवाट प्राप्त आम्दानीको उनलाई राम्रैसंग थाहा छ । व्यक्तिगत रुपमा वडाअध्यक्ष शेरचनले खानी संचालनका लागि पहल गरिरहेको बुझिएपनि वडावासी र गाउँपालिकाका अन्य जनप्रतिनिधिसंग समन्वय भने नगरिएको आरोप लाग्दै आएको छ ।

वडाअध्यक्ष शेरचनकै भनाइलाई आधार मान्ने हो भने पनि यो तामाखानीबाट वार्षिक करोडौं मूल्यको तामा उत्खनन् गर्न सकिने सम्भावना रहेको छ । अहिलेसम्म पनि खानी खन्न बनाइएको ५ सय मिटर सुरुङ भित्र तामाका धाउहरु प्रशस्तै देख्न सकिन्छ । रिपोर्टिङका क्रममा यस सम्वाददाता खानीको सुरुङ भित्र प्रवेश गर्दा त्यहाँ ताकाका धाउहरु प्रशस्तै भेटिएका थिए ।

मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले ओखरबोटको तामा खानी संचालन गर्न प्रविधि र जनशक्तिको आवश्यकता रहेको बताए । ‘स्थानीय तह खानी संचालन गर्न तयार छ, तर सरकारी अनुमति र प्रविधि नै मुख्य समस्याको रुपमा रहेको छ, उनले भने ।

विदेशी कम्पनिहरु आकर्षित
पछिल्लो पटक यस सम्वाददाता रिपोर्टिङका लागि असोज २६ गते ओखरबोटको तामाखानीमा पुग्दा दुईसाता अघि चिनिया कम्पनिका ६ जना व्यक्तिहरु खानीको निरिक्षण गरी फर्किका थिए । स्थानीय बुद्धिजीवि नविन पुनका अनुसार उनीहरले दुई दिनसम्म खानीको निरिक्षण गरे र दोभाषे मार्फत खानीको इतिहाँस र खानी रहेको ठाउँको भूगोलको बारेमा जानकारी लिएर फर्किए ।

गत मार्चमा नर्वेबाट पनि एक टोली खानीको अवलोकनका लागि आएको पुनले जानकारी दिए । उनीहरुले प्रक्रिया पुर्याएर स्थानीय सरकारले खानी खन्न अनुमति दिए आफूहरु तयार रहेको प्रतिक्रिया दिएका पुनले बताए ।चिनियाँ टोलीले खानीबाट निकालिएको तामा लगेर परिक्षण गर्दा सो तामा उत्कृष्ट देखिएको र केही समय पछि तामा उत्खननका लागि नेपाल आउने बताएको चिनियाँ टोलीलाई सहयोग गर्दै आएका व्यवसायी डम्मर सापकोटाले जानकारी दिए ।
यस्तो छ तामाखानी
यातायातका साधनमार्फत म्याग्दीको सदरमुकाम बेनीबाट करिब ४ घण्टाको यात्रा पछि पुगिन्छ ओखरबोट गाउँ । गाउँको सिरानमा भीरखानी जंगल छ । जंगलको फेदिमा नै चिस्यानयुक्त ठाउँको करिब २ किलोमिटर क्षेत्रमा तामाखानी रहेको छ ।
तत्कालिन समयमा तामा उत्खनन्का लागि निकै ठूलो मेहिनेत गरेको तामा खन्न प्रयोग गरेको सुरुङ देख्दा नै स्पष्ट हुन्छ ।

छिना र मार्तलको प्रयोग गरेर तामा निकाल्न त्यतिबेला कसरी सम्भव भयो होला भन्ने प्रश्न उव्जन्छ ।सुरुङ भित्र टाउको निहुराएर,खुट्टा खुम्चाएर हिड्नु पर्छ । सुरुङको दायाँ बायाँ तामाको धाउहरु प्रशस्तै भेटिन्छन् । करिब ५० मिटरको अन्तरमा दुईवटा सुरुङहरु रहेका छन् । माथिल्लो सुरुङको तुलनामा तल्लोपट्टि रहेको सुरुङ अत्यन्तै कठिन र जोखिमयुक्त छ ।

सुरुङ प्रवेश गरेपछि पानीको ताल,चमेरा र विभिन्न किसिमका जलचर प्राणीको आक्रमण शुरु हुन्छ । जतिजति सुरुङको अघि बढ्दै गयो त्यति नै सुरुङमा तामाको धाउहरु भेटिन्छन् । यस सम्वाददाता सहित स्थानीय पाँच जना व्यक्तिहरु तामा खानी भित्र प्रवेश गर्दा त्यहाँ तामाको टुक्रा र धाउहरु प्रशस्तै भेटिएका थिए । तामा खनेल स्थानीय दलबहादुर पटेलले सुरुङ भित्र रहेका तामाका धाउहरु देखाउँदै भने ‘यहाँ अझैपनि प्रशस्त स्तरीय तामाको खानी छ ।

खानी भित्र चमेराको राज
भिल्लाको देशमा मणिको नियति भोग्न बाध्य भएको ओखरबोटको तामा खानीमा चमेराको रजाइँ छ । व्यवस्थित रुपमा उत्खनन् गर्ने हो भने अर्वौको तामा निकाल्न सकिने सम्भावना रहेको अमूल्य खजानामा चमेरो र जलचर प्राणीहरु रमाइरहेका छन् ।खानीको सुरुङ भित्र प्रवेश गरी अघि बढ्दै जाँदा चमेराको आक्रमण पनि बढ्दै जान्छ । अध्यारो सुरुङमा टर्च लाइट बालेर अगाडी बढ्दै गर्दा चमेरोको आक्रमण तिव्र हुँदै जान्छ ।

खानी भित्र तालै ताल
खानी खनेल दलवहादुर पटेलले सुरुङ भित्र पानीको सतह बढ्दै गएपछि तामा उत्खनन्मा समस्या भएको भनाइ पुष्टि गर्न खानी भित्र रहेका तालहरु प्रर्याप्त छन् । पाँच सय मिटर लम्वाइको सुरुङको १ सय ५० मिटर भित्र पुगेपछि पानीको तालै ताल भेटिन्छन् । कम्मरसम्मको भाग पानीमा डुवेपछि त्यसभन्दा अघि बढ्ने आँट आउँदैन ।

यस सम्वाददातासंग सुरुङ भित्र प्रवेश गरेका स्थानीय दलवहादुर पटेल, नविन पुन,दिलवहादुर घर्ती मगर,जगदिश रसाइली लगाएतका स्थानीय उपल्लो खानीमा करिब दुई सय मिटर र तल्लो खानीमा २ सय ५० मिटर भित्र प्रवेश गरेको थियो । उपल्लो खानीको तुलनामा तल्लो खानीमा जोखिम पनि धेरै र तामाको सम्भावना पनि बढि रहेको पटेलले बताए ।
यस्तो छ खानी संचालनको सम्भावना

भनिन्छ ‘जहाँ जोखिम हुन्छ,त्यहाँ फाइदा पनि उत्तिकै हुन्छ । ओखरबोटको तामा खानी पुरानै प्रविधि र जनशक्तिबाट अव सम्भव छैन । किनभने,सम्भव हुने र पुरानो प्रविधि (छिना,मार्तल आदि) को प्रयोग गरेर तामा निकाल्न सकिने ठाउँसम्मको तामा निकालिइ सकिएको छ । अव आधुनिक प्रविधिको प्रयोग गरेर तामा खानीलाई व्यवस्थित रुपमा संचालन गर्नुको विकल्प छैन ।

खानी भएको ठाउँसम्म मेसिनेरी सामानहरुको सहज पहुँच पुग्ने गरी सुविधा युक्त मोटरबाटो पहिलो आवश्यकता देखिएको छ । चिनियाँ प्रयोगशालामा परिक्षण गरिएको नतिजा यदी सत्य हो भने यहाँको खानीबाट निकालिएको तामा विश्वकै उत्कृष्ट तामा ठहर भएको छ । खानी संचालन गर्न विदेशी (विशेष गरी चिनियाँ)हरु तयार देखिएका छन् । उनीहरुलाई प्रक्रिया पुर्याएर देशलाई फाइदा पुग्ने गरी ठेक्कामा दिने हो भने यहाँबाट वार्षिक करोडौं रुपैयाँ देशलाई राजस्व प्राप्त हुने बलियो सम्भावना रहेको स्थानीयवासीहरुको भनाइ रहेको छ ।