नेपाली कांगे्स रौतहटका नेता तथा संघीय प्रतिनिधिसभा सदस्य मोहम्मद आफताब आलमलाई किन पक्राउ नगरेको भन्दै सर्वोच्च अदालतले बारम्बार ताकेता गरेपछि प्रहरीले आइतबार पक्राउ गरेको छ। बम बनाउने क्रममा विस्फोट भई घाइते भएका आठजनालाई जलाएर मारेको आरोप लागेका आलमलाई सर्वोच्च अदालतले २०६९ जेठ १६ गते पक्राउ गरी अनुसन्धान गर्न आदेश दिएको भए पनि प्रहरीले अहिलेसम्म पक्राउ गरेको थिएन।

पीडितहरुले सर्वोच्चको आदेश कार्यान्वयन नभएको भन्दै गृह मन्त्रालय र नेपाल प्रहरीविरुद्ध अवहेलना मुद्दा दर्ता गरेलगत्तै सर्वोच्चले के कारणले पक्राउ नगरेको भन्दै प्रहरीलाई पत्र लेखेको थियो। बारम्बार पत्र लेख्दा पनि पक्राउ नपरेपछि सर्वोच्चले केकति कारण पक्राउ नगरेको, पक्राउ नगर्नुको कारण खुलाएर पठाउनु र कति समयमा पक्राउ पर्छन् वा पर्दैनन्, त्यसको मासिक विवरण पठाउनू भनेको थियो।

अदालतले नै मासिक प्रगति विवरण पठाउनू भनेपछि प्रहरी प्रधान कार्यालयले रौतहट प्रहरीलाई पक्राउ गर्न आदेश दिएको थियो। रौतहट प्रहरीले निगरानी गरिरहेका बेला प्रहरी प्रधान कार्यालयबाट पनि थप निगरानीका लागि टोली खटाइएको थियो। दुवै टोलीको सक्रियता बढेपछि उनी पक्राउ परेका हुन्।

‘अवहेलना मुद्दा दर्ता भएको छ। सर्वोच्च अदालतले मासिक प्रगति विवरण मागेर पक्राउ नपर्नुको कारण खुलाउन भनेको छ। त्यसकारण उनलाई पक्राउ गर्न प्रहरी बाध्य भएको हो’, स्रोतले भन्यो। स्रोतका अनुसार आठ वर्षपछि पक्राउ गर्नुका पछाडि केही राजनीतिक कारण पनि जोडिएला तर अनुसन्धान गर्नचाहिं प्रहरीलाई कसैले रोकेको थिएन। याे खबर नागरिक दैनिकमा छ।