बेनी नगरपालिका–३ भकिम्लीमा निर्माणधिन अवस्थामा रहेको जयन्ती माविको पक्की भवनलाई अमेरिकाबाट २० लाखभन्दा बढी आर्थिक सहयोग गरिएको छ । जिर्ण अवस्थामा रहेको भवन विस्थापित गरी समुदायको नेतृत्वमा स्वदेश तथा विदेशमा रहेका भकिम्लीबासी, विभिन्न सरकारी निकायको सहयोगमा निर्माणधिन अवस्थामा रहेको २४ कोठे पक्की भवनलाई दुई चरणमा २० लाख ५६ हजार ६४६ रुपैयाँ हस्तान्तरण गरिएको छ ।

बुधबार विद्यालयमा आयोजित कार्यक्रममा अमेरिकामा रहेका भकिम्ली मुसुङका यूवा याम पुनको संयोजकत्वमा संकलन गरिएको १० लाख २१ हजार ६४६ रुपैयाँ पूर्व विब्यस अध्यक्ष एवम् समाजसेवी पृथीप्रसाद पुनले ब्यवस्थापन समितिका अध्यक्ष पदम पुनलाई हस्तान्तरण गरे । पहिलो चरण समेत अमेरिकाबाट पुनकै संयोकत्वमा १० लाख ३५ हजार सहयोग संकलन गरिएको थियो । सहयोग हस्तान्तरण गदैं प्रमुख अतिथि समेत रहेका पुनले विद्यालयको भौतिक पूर्वाधारलगत्तै शैक्षिक अभियानलाई केन्द्रित गर्नुपर्ने बताए ।

‘समुदायको ठूलो लगानी छ,‘अब शैक्षिक योजनामा ध्यान केन्द्रित गर्नुपर्छ’ पुनले भने । उनले भकिम्लीको शैक्षिक जनशक्तीलाई बजारमा प्रतिस्पर्धा गर्न सक्ने गरी शैक्षिक गतिविधिमा केन्द्रित गर्नुपर्ने बताए । उनले भौतिक पूर्वाधारले मात्रै गुणस्तरीय शिक्षा सम्भव नभएकाले बताए । सहयोग हस्तान्तरण तथा सम्मान कार्यक्रममा ब्यवस्थापन समितिका अध्यक्ष एवम् बेनपा–३ का वडा अध्यक्ष पदम पुनले भवन निर्माणलगत्तै सम्पूर्ण ध्यान शैक्षिक गतिविधिमा केन्द्रित गर्ने बताए ।

उनले लक्ष्यभन्दा धेर्रै खर्च भएकाले प्रवासमा रहेका भकिम्लीबासीले निरन्तर सहयोग जुटाइरहनुपरेको बताए । सोही अवसरमा चन्दादाता गोकर्ण श्रीष, नरमायाँ श्रीष, नमिता श्रीष, कलिमायाँ छन्त्याललाई सम्मान गरिएको थियो । कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष रत्नबहादुर जिसी,आमन्त्रित सदस्य क्या. जसबहादुर पुन, स्थानीय खिम घर्ती,रेशम केसी, सुन्तला जोन कार्यक्रमका अध्यक्ष खिम पुन लगाएतको उपस्थिती रहेको थियो ।

कार्यक्रमको अध्यक्षता विब्यस अध्यक्ष पुन, स्वागत प्रधानाध्यापक रामबहादुर पुन र सञ्चालन शिक्षक भोजबहादुर जिसीले गरेका थिए । विद्यालयको भवन, प्रवेशद्धार, खेलमैदानको प्याराफिट निर्माण लगाएतको संरचनामा ३ करोड ३६ लाख खर्च भएको छ । यसैबीच सहयोगदातालाई भब्य सम्मान सहित सहयोग विवरणलाई शिलालेखमा राखिने छ ।