एनआरएनको नवौ कुम्भमेलामा मातृभूमि नेपाल फर्केका एनआरएनले जे जस्ता हर्कतहरू देखाइरहेका छन्, त्यो देख्दा लाग्छ- ‘एकपटकको नेपाली सधैंको नेपाली’ भनेर उनीहरूले राखेको माग ठीकै रहेछ । यस्तै हर्कत देखाउने एक बहादुर हुन्- अस्ट्रेलियाका एनआरएन रमेशकुमार थापा । अध्यागमनको डेस्क तोडफोड गर्ने अस्ट्रेलियन नागरिक भैसकेका यी ‘बहादुर’ थापा प्रहरीको चिसो खोरमा पुगेर ५० हजार जरिवाना तिरेर छुटेका छन् ।

उनको नेतृत्वमा बहादुरी देखाउने अरू चारजनामध्ये एकजनालाई २० हजार र तीनजनालाई कागज गरेर छोडिएको छ ।अध्यागमन विभागका अनुसार थापालगायतका अस्ट्रेलियाबाट आएको एनआरएनको पाँचजनाको समूहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन डेस्क तोडफोड गरे । उनीहरुले लाइनमा बस्नुपरेको भन्दै आक्रोश मात्र पोखेनन्, नेपाल र नेपालीलाई तथानाम गाली पनि गरे । उनले यसरी त कसरी हुन्छ ? अस्ट्रेलियामा त यस्तो हुदैन भन्दै पाठ पनि पठाए ।

त्यही हुलदंगाबाज अस्ट्रेलियन एनआरएनका नाइके थिए- रमेशकुमार थापा । उनले नै अस्ट्रेलियन पाइन देखाउँदै आफ्नो मातृभूमिको अध्यागमन डेस्कको सिसामा मुड्की बजारे र फुटाइ दिए । उनले अध्यागमन विभागका कर्मचारीमाथि अभद्र व्यवहार नै गरे ।अति भएपछि खति हुन्छ भनेझै उनको पनि खति भयो । एनआरएन कुम्भमा सहभागी हुन आफ्नो मातृभूमि फर्कदा प्रहरीको चिसो खोरमा बस्नु पर्यो । जरिवाना तिरेर छुट्नुपर्यो ।

कसैले पनि बहादुरी गरिस्, स्याबास भनेनन्, उल्टै एनआरएनको नाक काटिस्, अस्ट्रेलियाको बेइज्जत गरिस् भनेर गाली गरे । केही हुल्लडबाजले भने उनको पक्ष लिदै ‘नेपालले देखायो दादागिरि पनि भनें’ , त्यो बेग्लै कुरा हो । अध्यागमनका एक अधिकारी भन्छन्- ‘हामीले रहरले यसो गरेका हैनौ, यो हाम्रो बाध्यता हो । उहाँले दादागिरि नै देखाउनु भयो । हामीले केही नगर्दा पनि नेपालमा त जे गर्दा पनि हुन्छ, जति हप्काउँदा पनि हुन्छ भन्ने गलत सन्देश जाने भयो । त्यसैले हामी उहाँमाथि कारबाही गर्न बाध्य भयौै ।’ Source: nepali.breaknlinks.com

विज्ञापन