प्रभु बैंक दरबाङ शाखाले गाउँमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । मालिका गाउँपालिका वडा नं ४ ओखरबोटका सेवाग्राहीलाई शुक्रबार वडा कार्यालयमा भत्ता वितरण गरिएको हो । अशक्त र बृद्धबृद्धालाई दरबाङ सम्म आउन समस्या हुने भएकाले बैंकले गाउँमै पुगेर भत्ता वितरण गरेको शाखा प्रबन्धक विपिन चोखालले बताए ।

‘उहाँहरु दरबाङसम्म आउन धेरै समय र खर्च लाग्छ,‘हामीले गाउँपालिकासँग समन्वय गरी वडामै पुगेर वितरण गरेका छौ’ चोखालले भने । उनका अनुसार दशैंको मौकामा भत्ता नपाएका बृद्धबृद्धालाई दोस्रो ठूलो चाड तिहारको अवसरमा प्रयोगमा आउने गरी वडाभित्रका ९८ जनालाई करिव १० लाख वितरण गरिएको बताए ।

भत्ता वितरण कार्यक्रममा वडा अध्यक्ष दिलिप शेरचनले बृद्धबृद्धा, अपाङ र अशक्तलाई भविस्यमा पनि वडामै कार्यक्रम गरी भत्ता वितरण गरिने बताए । ‘बैंकले साथ दिएकाले पनि गाउँमै आएर वितरण गर्न सहज भएको छ,‘भविस्यमा पनि हामीले तपाईहरुलाई बजारसम्म जान दुख दिन्नौ’ शेरचनले भने ।

सामाजिक सुरक्षा भत्ता बैंकमार्फत वितरण गर्ने झन्झटिलो प्रक्रियाका कारण जेष्ठ नागरिक र असक्तहरुले बैंकसम्म पुगेर भत्ता बुझेको पैसा यातायात लगाएत बाटोमै खर्च हुने भएकाले सरकारले सुविधाको नाममा सास्ती दिएको बताउने गरेका छन् । सरकारले चौमासिकरुपमा जेष्ठ नागरिक,एकल महिला र दलित जेष्ठ नागरिकलाई भत्ता वितरण गर्ने गरेको छ । प्रभु दरबाङ शाखाले मालिका गापाको वडा नं २,३ र ४ वडामा वितरण गर्ने गरेको छ । यसैबीच बेनी नगरपालिका वडा नं ४ मा समेत प्रभुले सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । जिल्लाका ६ वटै स्थानीय तहमा प्रभु बैंकको शाखा रहेको छ ।