रविना बोहरा/बागलुङ नगरपालिका–१ रामरेखामा गरिएको सडक कालोपत्रे एक दिनमै उप्किएको छ । बागलुङ नगर कार्यपालिकाको कार्यालय र सडक बोर्डको संयुक्त लगानीमा निर्माण गर्न लागिएको उक्त सडक कालोपत्रे गरेको भोलिपल्ट नै उप्किएको हो।

बागलुङ नगरपालिका–१ रामरेखाको जसवीर टोलदेखि बागलुङ–बेनी राजमार्ग जोड्ने सडक सम्मको २ सय ८ मिटर सडक मध्य कालोपत्रे गरिएको ३० मिटर सडकको दुवै छेउ कमसल देखिएको छ । विहीबार साँझसम्म गरिएको सो सडकको पिच शुक्रबार स्थानीयबासीले हेर्दा उप्किएको देखेपछि सम्बन्धित निकायलाई जानकारी गराएका थिए ।बागलुङ नगरपालिका–१ का स्थानीयबासी जसवीर श्रीस मगर र सुमित्रा शर्माले जनताको आँखा छारो हाल्ने काम भएको भन्दै आक्रोशित भएका छन् । मापदण्ड अनुसार काम गर्नुपर्ने भन्दै सम्बन्धित निकायलाई ध्यानाकार्षण गराएका छन् ।

वडा कार्यालयको संयोजनमा बागलुङ नगरपालिकाका इन्जिनियर मनोज शर्मा लगायतको प्राविधिक टोलीले हेर्दा सडक छेउमा गुणस्तर कम भएको देखेपछि ३० मिटर सडकमा गरिएको कालोपत्रे उप्काएर पुनः निर्माण गर्न निर्देशन दिइएको छ। बागलुङ नगरपालिकाका इन्जिनियर मनोज शर्माले कालोपत्रे गर्दा ढुंगा नबढारिकन गरेकाले राम्रोसँग जम्न नपाएको एवं गुणस्तरीय काम नभएकाले ठेकेदार कम्पनीलाई पुन बनाउन लगाइएको बताउनुभयो ।

सडक बोर्डबाट प्राप्त ८२ लाख २१ हजार रुपैयाँमा बागलुङ नगरपालिका वडा नम्बर एकको रामरेखा, दुईको राइटरको चोकदेखि बागलुङ बेनी राजमार्ग जोड्ने सडक, वडा नम्बर तीनको विद्युत चोकदेखि स्यानीपिपल र वडा नम्बर चारको आर्मी क्याम्प अगाडि र ओढारचौर ढोडेनी सडक खण्डमा विग्रएका संरचना मर्मतका लागि तिलक निर्माण सेवाले ठेक्का पाएको थियो । नगरका अन्य ठाउँमा पनि काम गरिरहेकाले लगत इष्टिमेटमा भए अनुसार काम भए नभएको बारेमा अनुगमन गरेर सोही अनुसार काम गर्ने नगरपालिकाले जनाएको छ ।

Leave a Reply