बेनी नगरपालिका वडा नं ४ आगेबगरमा ब्यवसायीक पुष्प खेती गरिएको छ । हिन्दु नेपालीको दोस्रो ठूलो पर्व तिहारलाई लक्षित गरी हरियाली गुप्र प्रालिले परिक्षणको रुपमा ६ रोपनीमा गरिएको हाइब्रिड र स्थानीय प्रजातिको सयपत्री फूल खेती सफल भएको छ ।

काठमाण्डौ र कास्कीको लुम्ले लगाएतका स्थानबाट बिउ ल्याइएको फूललाई परिक्षणको रुपमा बेनी र प्रसिद्ध धार्मिकस्थल गलेश्वरमा विक्री समेत गरिसकिएको हरियाली गुप्र को ब्लक ‘बी’ इन्चार्ज केदारनाथ पौडेलले बताए । ‘तिहारका लागि माग भइसकेकेको छ,‘चाडपर्व बाहेक अन्य समयमा पनि विक्री गर्ने लक्ष्य छ’ पौडेलले भने ।

उनका अनुसार हाइब्रिड जातको फूल खेतीका लागि हावापानी अनुकुल देखिएको बताए । बेनीबजार, गलेश्वर मन्दिरमा तिहारमा विक्री गर्ने गरी ब्यापारीले माग गरेपछि आगामी बर्ष थप बजार विस्तारसँगै फूल खेतीलाई विस्तार गरिने जनाइएको छ ।

जिल्लाभित्रको बजार क्षेत्रमा सयपत्री फूलको आयात प्रतिस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । चाडपर्व बाहेक अन्य समयमा हुने सार्वजनिक कार्यक्रममा समेत महंगोमा प्रति माला ३ सय रुपैयाँसम्म खरिद गरी ल्याउने गरिन्छ । सिजनमा १ सय रुपैयाँमा पाइने माला अन्य समयमा महंगो पर्ने भएकाले पनि जिल्लाभित्रको फूलको बजार हरियालीले ओगट्ने गरी खेती सुरु गरिएको जनाइएको छ ।

विगतमा जिल्लाका विभिन्न स्थानमा फूल खेती गरिएपनि बजार अभावका कारण निरन्तरता पाउन नसकेको अवस्थामा नयाँ मोडलको आधुनिक कृषि फार्म सुरू गरेको हरियालीले फूलको आयात प्रतिस्थापन हुने मात्र नभई प्लास्टिकको माला, खादाको प्रयोगलाई समेत निरुत्साहित गरी वातावरणमैत्री बनाउन पुष्पखेती गरिएको कम्पनीका प्रबन्ध निर्देशक शेरबहादुर केसीले बताए ।

जिल्लाभित्र सयपत्री, मखमली, गोदावरी लगाएतका फूलको माग अधिक हुन्छ । हरियालीले वडा नं ४ सिंगा र आगेबगरमा रु ६ करोडको लगानीमातरकारी खेती,माछा पालनका साथै मौरी पालन, डाइगन फुडको खेती गरेको छ । कृषिको आधुनिकिकरण, ब्यवसायीकरण, रोजगारी सिर्जना, उत्पादन र कृषकको आम्दानी बढाउने उद्देश्य राखिएको यो फार्मलाई ‘हरियाली ग्रुप’ र अवधारणलाई ‘हरियाली मोडल’ म्याग्दी जिल्लामा हालसम्मकै ठूलो कृषि परियोजना हो ।

विश्वमा सफल मानिएका दक्षिण अफ्रिकाको सामुहिक खेती ‘टिम्बाली’ र भारतका दूध उत्पादक कृषकहरुको ‘आमुल’मोडललाई पछ्याउँदै सोही मोडललाई समावेश गरी फार्ममार्फत छोटो समयमै करिव ४० लाख बराबरको उत्पादन बिक्री भइसकेको छ। करिव १६० रोपनी जग्गा १५ वर्षका लागि भाडामा लिइएको छ । निकट भविष्यमा नै बोयर जातका बाख्रा र वनजन्य पंक्षि कालीज पालन गर्ने तयारी गरेको छ ।

विज्ञापन