लघु उद्यमीलाई आर्थिक निर्भर हुने गरी लगानी गर्नुपर्ने म्याग्दीको सदरमुकाम बेनीमा आयोजित एक कार्यक्रमका बक्ताले बताएका छन् । स–साना लगानीबाट समेत आर्थिक रुपमा आत्मनिर्भर हुन सकिने भएकाले सहकारीमार्फत पूँजी परिचालनमा प्राथमिकता दिनुपर्ने बताइएको हो । सौगात बहुउद्देश्यीय सहकारी संस्थाको दशौं साधारणसभा सभाको अवसरमा बोल्ने बक्ताले उत्पादनमुखी क्षेत्रमा गरिएको लगानीले दिर्घकालिन फाईदा हुने बताएका थिए ।

साधारणसभाको उद्घाटन गदैं सहकारीका सल्लाहकार रामजीप्रसाद सुबेदीले बचत तथा ऋण कारोबारमा मात्रै ध्यान नदिई उद्यमीको उत्पादनलाई समेत सहकारीमार्फत बजारीकरणमा सघाइरहेको बताए ।उनले उद्यमीका उत्पादनलाई उपभोक्तासम्म पु¥याउन सहकारीले खेलेको भूमिकाबाट उत्साहित भएको बताए । विशिष्ट अतिथि दिपक पौडेलले म्याग्दीका महिला उद्यमीलाई आत्मनिर्भर बनाउन तथा उत्पादनलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारमा लैजान सहकारीले भूमिका खेलेको बताए।

साधारणसभाको अवसरमा बेनपा ९ का वडा अध्यक्ष बेलबहादुर कुटवाल,सल्लाहकार होमकुमारी उपाध्याय,डिमेघा म्याग्दीकी अध्यक्ष लिलादेवी पुन,निबर्तमान अध्यक्ष भगवती शर्मा, सेयर सदस्य हिरादेवी उपाध्यायले शुभकामना मन्तव्य राखेका थिए । सहकारीका कोषाध्यक्ष नेत्रराज सुबेदीले सहकारीले गत आवमा २ करोड ७२ लाख १६ हजार ९ सय कारोबार गरेको बताए । उनले रेमिट्यान्स सहित उद्यमीमैत्री कारोबारलाई प्राथमिकता दिएको बताए ।

सोही अवसरमा उत्कृष्ट बचतकर्तातर्फ भिमादेवी शर्मा, उत्कृष्ट ऋणी दिप बहादुर मल्ल र उत्कृष्ट कर्मचारी प्रमिला पौडेललाई सम्मान गरिएको थियो । २०६६ मंसिर १६ गते २५ जना सदस्यले २५ हजार सेयर लगानी बाट सुरु गरेको संथामा हाल ५०० भन्दा बढी सदस्य रहेका छन् । सहकारीका अध्यक्ष सन्तोष ढुंगानाको अध्यक्षता, स्वागत उपाध्यक्ष शर्मिला ढुंगाना र सञ्चालक समितिका सदस्य शिवप्रसाद सुबेदीले गरेका थिए ।

विज्ञापन