जन्मिएको ६ महिनादेखि ५ वर्षमुनिका बालबालिकाहरुलाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउन सुरु भएको छ । राष्ट्रिय कार्यक्रम अन्तर्गत देशका सबै स्थानीय तहमा बालबालिकालाई लक्षित गरेर शनिबार र आइतबार औषधी खुवाउन लागिएको हो ।

म्याग्दीमा पनि शनिबारदेखि ६ ओटै स्थानीय तहमा ६ महिनादेखि ५ वर्षमुनिका बालबालिकाहरुलाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउन सुरु गरिएको छ । जन्मेको ६ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल, एक वर्षदेखि पाँच वर्षमुनिका बालबालिकालाई जुकाको औषधी (अल्बान्डाजोल) र ६ महिनादेखि दुई वर्षभित्रकालाई बालभिटा खुवाइने कार्यक्रम रहेको छ ।

बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउनका लागि म्याग्दीको बेनी नगरपालिकामा मात्रै ७२ जना महिला स्वास्थ्य स्वयंसेविकाहरु खटाइएको छ । बेनपा–७ र ८ नम्बर वडामा महिला स्वयंसेविकासँगै थप एकएक जना स्वास्थ्यकर्मी समेत परिचालन गरिएको बेनपाका स्वास्थ्य संयोजक लिला गौतमले बताइन् ।

बेनी नगरपालिकामा करिब ३ हजार ५ सयजना बालबालिकालाई भिटामिन ‘ए’ र ३ हजार जनालाई जुकाको औषधी खुवाइने उनले जानकारी दिएकी छिन् । बेनी क्षेत्रमा गएको बैशाख महिनामा ३३ सय बालबालिकालाई भिटामिन ‘ए’ र २७ सयलाई जुकाको औषधी खुवाइएको थियो । यसैगरी कार्यक्रमको अवसरमा पाँच वर्षमुनिका बालबालिकाहरुको पाखुराको नाप समेत लिइने बताइएको छ । बालबालिकाको स्वास्थ्यमा पोषणको स्थिति पत्ता लगाउनका लागि पाखुराको नाप लिने गरिन्छ ।

विज्ञापन