पर्वतमा निर्माणाधीन विश्वकै दोस्रो अग्लो बञ्जीजम्पको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । निजी क्षेत्रका युवा व्यवसायीको लगानीमा बनिरहेको नमुना बन्जीजम्पको निर्माणकार्य अन्तिम चरणमा पुगेको हो । कालीगण्डकीको खोंचमा कुश्मा र बागलुङको बलेवालाई ५ सय २० मिटर लामो झोलुंगे पुलमा जोडेर २ सय २८ मिटर उचाइको बन्जी निर्माण भइरहेको हो  । यहाँ बन्जीजम्पको स्पट उपयुक्त रहेको परिकल्पना र डिजाइन फ्रेञ्च युवती फ्लोरेन्सले गरेकी हुन् ।

कुश्माका नेत्र पराजुली, नवराज पौडेल, युवराज जोशी, राजन जोशी र सिन्धुपाल्चोकका राजु कार्की र फ्लोरेन्सलगायतको लगानीमा निर्माणाधिन बञ्जीको निर्माण कार्य ८० प्रतिशत पुरा भएको छ । नेपालीसँग विवाह गरेकाले फ्लोरेन्सले अंगीकृत नागरिकता प्राप्त गरिसकेकी छन । लगानीकर्ताले हालसम्म रु.१२ करोड रुपैयाँ खर्च भइसकेको जनाएका छन । बञ्जीमा युवा लगानीकर्ताबाहेक पनि प्रभु बैंकको हालसम्म ५ करोड रुपैयाँ लगानी भएको कुश्मा शाखाका प्रबन्धक हेमन्तबाबु शर्माले बताए ।

संसारकै गहिरो खोंच बनाएर बगेको कालीगण्डकी नदीमाथि पर्वतको कुश्मा र बागलुङको बलेवा जोड्ने गरी अग्लो झोलुंगे पुल बनाइएको छ । यहाँ विश्वकै दोस्रो उचाइको बन्जी बन्ने दाबी लगानीकर्ताहरूको छ । ५ सय २० मिटर लामो र २ सय २८ मिटर उचाइको सिंगल स्पान झोलुंगे पुलसहित कालीगण्डकीको खोंचमा बन्ने यो बन्जी मुलुककै अन्य बन्जी स्पटमध्ये नमुना हो । २०७३ बैशाखमा निर्माण सुरु भएकोमा हालसम्म निर्माणकार्य करिब ८० प्रतिशत सकिएको छ ।

बञ्जीसँगै उनीहरूले स्काइ साइक्लिङ, स्वीङ (लठ्ठामा मच्चिने पिङजस्तो खेल) र रिसोर्ट समेतको सञ्चालन तयारी गरेका छन् ।द क्लिफ प्रालिमार्फत यी सबै संरचनामा लगानी गरिएको लगानीकर्ताले बताएका छन । क्लाम्पिङ रिसोर्ट सञ्चालन गर्न बलेवामा २५ रोपनी जग्गामा संरचना निर्माण भइरहेको संचालक युवराज जोशीले जानकारी दिए । बञ्जीजम्प विश्वकै दोस्रो तथा स्काई साइक्लिङ र स्वीङ विश्वकै अग्लो हुने दाबी लगानीकर्ताहरूको छ ।

“विश्वकै अग्लो बन्जी चाइनामा छ,” लगानीकर्ता राजु कार्कीले भने, “हामीकहाँ हुने स्काई साइक्लिङ र स्वीङ विश्वमै अग्लो हुनेछ ।”बञ्जी निर्माणतर्फ कन्स्ट्रक्सनको जिम्मा लिएको प्यारामाउन्ट कन्स्ट्रक्सनले अबको तीन महिनाभित्र निर्माणकार्य सक्ने जनाएको छ । “फस्र्ट स्टेजको लेडर स्टेपको काम भइरहेको छ । यो दुई महिनामा सक्छौं,” प्यारामाउन्टका कम्पनी लिडर मनोजकुमार चौधरीले भने, “अन्य स्टिलको काम एक महिनामा सकिन्छ । सरासर काम गर्न पाए तीन महिनामा सबै सकेर कम्पनीलाई जिम्मा लगाउँछौं ।”

लगानीकर्ताहरूले पर्वतलाई साहसिक पर्यटनको “हब” बनाउने दाबी गरेका छन्न । बन्जीसँग एकसाथ निर्माण हुन लागेका स्वीङ र स्काई साइक्लिङले विश्वका साहसिक पर्यटकको ध्यान खिच्ने लगानीकर्ता मध्येका नेत्र पराजुलीले दाबी गरे । “हामीसँग विश्वसँग जानकार व्यक्तिहरू जोडिएका छन, त्यसकै आधारले पनि साहसिक पर्यटनमा मुलुकलाई चिनाउनेछौं,” उनले भने ।

कम्पनीले स्काई साइक्लिङको परीक्षण सुरु गरिसकेको छ । “लगानी गर्दा प्रतिफलको अपेक्षा पक्कै हुन्छ,” लगानीकर्ता नवराज पौडेलले भने, “मुनाफाभन्दा हामीले जिल्लालाई चिनाउन खोजेका हौं ।” बञ्जी, स्काई साइक्लिङ र स्वीङमा मात्रै वर्षमा ६० हजार आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्य रहेको छ । “विश्वभरका साहसिक पर्यटकलाई यहाँको पहिचान गराउन सफल हुन्छौं,” कार्कीले भने । बञ्जीको क्षमता दैनिक २ सय जनाको रहेको छ ।

बञ्जीको मुख्य प्रवेशद्वार पर्वतको कुश्मातर्फ ४ आना जग्गामा प्रवेश घर लगायतका संरचना निर्माण भएका छन । बागलुङतर्फ बागलुङ नगरपालिका १४ बलेवामा २५ रोपनी जग्गा कम्पनीको नाममा रहेको छ । उक्त जग्गामा स्वीमिङ पुलसहितको रिसोर्ट बन्दै छ । “बलेवामा एडभेन्चर स्टाइलको रिसोर्ट र स्विमिङ पुल बन्दैछ,” लगानीकर्ता राजन जोशीले भने ।

उनीहरूले बलेवाबाट मुलाबारी हुँदै भैरवथानसम्म ट्रेकिङ रुटको खोजी पनि गरिरहेका छन ।पोखराबाट ५७ किलोमिटर उत्तरमा पर्ने कुश्मा नगर मुस्ताङको प्रवेशद्वार भएकाले यहाँको बञ्जी विदेशीको रोजाइमा पर्ने अनुमान गरिएको छ । उत्तर–दक्षिण छिमेकी मुलुक जोड्न निर्माणाधीन कालीगण्डकी करिडोर सञ्चालन भइसकेकाले यहाँ भारतीय र चिनियाँ पर्यटक बढी आउने अपेक्षा लगानीकर्ताको छ ।

Leave a Reply