जन्मदिन मनाउने आ–आफ्नै शैली हुन्छन् । कतिपयले आफ्नै तौर तरिका अनुसार जन्मदिन मनाउने गरेका छन् । कतिले मठमन्दिरमा पुगेर पनि जन्मदिन मनाउँदै आएका छन् । पछिल्लो समय जन्मदिन मनाउने नाउँमा धेरै खर्च गर्ने गरिएको छ। तर,म्याग्दीका एक युवाले आफ्नो जन्मदिनको अवसरमा लोकप्रिय गायक जीवन शर्माको छोराको उपचारमा सहयोग गरेका छन् ।

बेनी नगरपालिका–७ हुलाकचोक निवासी भोजबहादुर रिजालले आफ्नो जन्मदिनको अवसरमा गायक शर्माका माइला छोरा अमृत आचार्यको मासु खाने क्रममा घाँटी र आमाशयको बीचको अन्ननलीमा हड्डी अड्किएपछि उपचारमा आर्थिक अभावको खवर सुनेका रिजालले जन्मदिनको अवसरमा १२ हजार ५ सय परोपकारी संस्था ओमकुमारी शान्ति कोषका अध्यक्ष राजेश शाक्यलाई हस्तान्तरण गरेका छन् ।

‘जनताको गित गाउने गायकको याचना सुनेर सानो सहयोग गरेको छु,‘सबैको प्रयासमा उपचारमा सहयोग गर्न अनुरोध गर्दछु’ रिजालले भने। सोही अवसरमा ओमकुमारी शान्ति कोषका अध्यक्ष सहित पदाधिकारी, कार्यसमिति सदस्यबाट गरी २० हजार आर्थिक संकलन गरिएको थियो ।

आर्थिक अभावका कारण उपचारबाट बन्चित भएका म्याग्देलीको उपचारमा सघाउँदै आएको कोषले म्याग्दी बाहेक अन्य जिल्लामा सहयोग गर्न नसक्ने भएकाले ब्यक्तिगत सहयोगमार्फत २५ हजार हस्तान्तरण कोषका अध्यक्ष शाक्यले बताए । गायक शर्माका छोराको नबमीका दिनमा मासु खाँदा हड्डीले भोजननलीमा प्वाल पारेको र हड्डी निकाल्न तुरुन्त अपरेसन गर्ने क्रममा अन्न नलीसम्म काट्नु परेको थियो । जीवनभर क्रान्तिको र परिवर्तनको पक्षमा निमुखा किसान, मजदुर र भरियाका गीत गाएका शर्माको छोराको उपचारका लागि करिव ४० लाख रूपैयाँ आवश्यक पर्ने बताइएको छ ।

सहयोग गर्न चाहनेले निम्न बैंक खातामा सहयोग पठाउन सकिनेछ
ग्लोबल आइएमई बैंक लिमिटेड
कान्तिपथ शाखा
अर्जुन आचार्य
खाता नं. ०१०७०१००४६७८७