बेनी नगरपालिका–५, पुलाचौरमा आइतबार सामाजिक सुरक्षा भत्ता वितरण भएको छ । सरकारले उपलब्ध गराउँदै आएको सामाजिक सुरक्षा भत्ता बेनी नगरपालिका र प्रभु बैंक बेनी शाखा म्याग्दीबीच आपसी सम्झौता गरी बैंकमार्फत वडा कार्यालयमा पुगेर भत्ता वितरण गरिएको हो ।

वडामा रहेका ज्येष्ठनागरिक, दलित ज्येष्ठनागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्तिहरु र बालबालिकासहित कुल १ सय ६८ जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको प्रभु बैंक बेनी शाखाले जनाएको छ । उनीहरुलाई बेनी नगरपालिका–५, का वडा अध्यक्ष लक्ष्मण बानियाँ, सदस्य रामप्रसाद सुवेदी, वडा सचिव कृष्णबहादुर बानियाँ र प्रभु बैंक बेनी शाखाका प्रवन्धक लालकुमारी खड्काले भत्ता वितरण गरेका थिए ।

आइतबार मात्रै पुलाचौरमा विभिन्न व्यक्तिहरुलाई गरी करिब १७ लाख रुपैयाँ सामाजिक सुरक्षा भत्ता वितरण गरिएको प्रभु बैंकका शाखा प्रवन्धक खड्काले जानकारी दिएकी छिन् । प्रवन्धक खड्कासहित बैंकको ग्राहक सेवा केन्द्र विभाग प्रमुख नुलकुमारी शेरचन, कर्जा विभाग प्रमुख खुमलाल गुरुङ र मानबहादुर बानियाँले सामाजिक सुरक्षा भत्ता वितरण कार्यमा सहजीकरण गरेका थिए । गाउँमै पुगेर वडा कार्यालयमा बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गरेपछि ज्येष्ठनागरिकहरु खुसी भएका छन् ।

यसअघि प्रभु बैंकले बेनी नगरपालिका–४, सिङ्गामा दुई दिनसम्म २ सय ८७ जनालाई १७ लाख रुपैयाँभन्दा बढी रकम सामाजिक सुरक्षा भत्तास्वरुप वितरण गरेको थियो । प्रभु बैंकले बेनी नगरपालिकाको ४ र ५ नम्बर वडामा भत्ता वितरण गर्नका लागि नगरपालिकासँग सम्झौता गरी काम सुरु गरेको बताएको छ । यसैगरी वडा कार्यालयसम्म आएर भत्ता लिन नसक्ने ज्येष्ठनागरिक, अपाङ्गता भएका व्यक्ति र अन्यलाई भने घरमै पुगेर वितरण गरिएको बैंकका बेनी शाखा प्रवन्धक खड्काको भनाइ छ ।

उमेरले ७० वर्षदेखि माथिका ज्येष्ठनागरिकलाई क्रमशः मासिक तीनहजार, ६० देखि ७० वर्षसम्मका ज्येष्ठनागरिकलाई दुईहजार, एकल महिलालाई दुईहजार, अपाङ्गता भएका ‘क’ वर्गका व्यक्तिलाई ३ हजार, ‘ख’ वर्गलाई एकहजार छ सय र बालबालिकालाई पोषण भत्तास्वरुप मासिक चारसय रुपैयाँका दरले सरकारले सामाजिक सुरक्षा भत्ता प्रदान गर्दै आइरहेको छ । तत्कालीन २०५१ सालमा निर्वाचित मनमोहन अधिकारी नेतृत्वको पहिलो कम्युनिष्ट सरकारले ज्येष्ठनागरिकलाई मासिक एकसय रुपैयाँ दिने गरी सामाजिक सुरक्षा भत्ता वितरणको कार्यक्रम सुरुवात गरेको थियो ।

विज्ञापन