उत्तरी म्याग्दी तीनदिनदेखि अन्धकारभय भएको बनेको छ । रघुगंगा गाउँपालिका–१ बेगखोला नजिकै कालिगण्डकी आसपासका क्षेत्रमा देखिएको समस्या मर्मत नहुदाँ उत्तरी क्षेत्रका बासिन्दा अन्धकारमा बस्न बाध्य छन् । विद्युतको पोलमा देखिएको समस्यालाई समाधान गर्न कालिगण्डकीबाटै पौडी खेलेर जानुपर्ने भएकाले मर्मतमा ढिलाई भएको विद्युत प्राधिकरण बेनी वितरण केन्द्रका प्राविधिक तिर्थनाथ शर्माले बताए ।

उनका अनुसार उक्त क्षेत्रमा समस्या देखिएपनि कारण पत्ता लगाउन खोलामा पौडी खेलेर जाने गरी तयारी भइरहेको बताए। सोमबार बेलुकीसम्म विद्युत आपूर्ती नियमित हुने उनको भनाई छ । तीनदिनदेखि विद्युत नहुदाँ अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरस्थती गरिरमा विकास बैंकमा सामाजिक सुरक्षा भत्ता लिन आएका बृद्धबृद्धाले सास्ती खेप्नु परेको छ । लाइनमा बसेका बृद्धबृद्धालाई विद्युत नहुदाँ सिस्टमले काम नगरेपछि समस्यामा परेका थिए । त्यस्तै सरकारी तथा निजि संघसंस्था, साना उद्योग, होटलमा समेत लाइन हुदाँ समस्या भएको छ । यस क्षेत्रमा विगतमा पनि पटकपटक विद्युत सेवा अवरुद्ध हुने गरेको थियो ।