परिक्षणको रुपमा सुरू गरिएको अलैंची खेतीले जिल्लाको मंगला गाउँपालिका–५ अर्मनमा ब्यवसायीक रुप लिएको छ । गाउँमा घरायसी प्रयोजनका लागि लगाईने अलैंचीले गतबर्षदेखि बजार पाएपछि स्थानीय अमर बहादुर थापाले गाउँकै खोलाखर्क भन्ने ठाउँमा बार्षिक २० हजार भाडामा जग्गा भाडामा लिएर र आफ्नै जग्गा गरी १२ रोपनीमा विस्तार गरेका छन्।

स्थानीय सिद्धधोज मल्लले ४ बर्ष अगाडी अलैंची खेती सुरू गरेपनि गतबर्ष उनको मृत्यु भएपछि सोही अलैची बारीलाई समेत खरिद गरेका नेपालीले यसबर्ष २ लाखभन्दा बढीको अलैंची बजारमा विक्री गर्ने बताए । ‘धान खेति घटाएर अलैंची खेती गरेको छु,‘मूल्यमा गिरावट आएपनि निराश भएको छैन’ थापाले भने । तीनबर्षसम्म लगानी गरेपनि त्यसपछि लगातार आम्दानी हुने भएकाले अलैंची खेतीतर्फ आर्कषित भएको बताए । उनले टिपेर सुकाएलगत्तै ब्यापारी गाउँमै खरिद गर्न आउने बताए ।

 

अलैंची खेती र यसको बजार मूल्यको बारेमा थाहा पाएपछि जिल्लाभित्रका विभिन्न गाउँमा बिरुवा समेत विक्री गरेको बताए । परम्परागत खेतीपाती भन्दा व्यावसायिक अलैंची खेतीबाट बर्षेनी आम्दानी बढ्न थालेको थापाले बताए । ‘गाउँमै नयाँ खेती हो,‘पहिले झन्झट लाग्थ्यो, अहिले बिरामी हुदाँ पनि काम गर्छु’ उनले भने । धान र अन्य बाली गर्दा अनावश्यक अनावश्यक दुःख र झन्झट हुने भएकाले आगामी बर्ष थप खेतबारीमा अलैंची विस्तार गर्ने उनले बताए । ‘बार्षिक पाँचलाखसम्म आम्दानी गर्ने लक्ष्य छ,‘अलैंची खेतिमा लाग्न गाउँलेलाई पनि अनुरोध गरेको छु’ उनले भने ।

गत वर्ष देशका अन्य ठाउँमा प्रतिकिलो १ हजार बजारमूल्य हुँदा आफूले गाउँबाट नै प्रतिकिलो ६ सय ५० रुपैयाँमा अलैंची बेच्नु परेको तिक्तता व्यक्त गर्ने थापाले यस वर्ष अलैंचीको उत्पादन पनि राम्रो भएको र आफैंले वजारमा लगेर बेच्ने योजना रहेको बताए। कुनै प्रकोप नदेखिएकाले यसबर्ष समयमै विक्री गर्ने बताए ।अलैंचीका ७ हजार गाँज रहेका र पोहोर साल १ क्विन्टल अलैंची उत्पादन भएको थापाले बताए ।

अलैंचीका लागि सोस्याइलो र चिसानयुक्त ठाउँ चाहिने र यसका लागि अर्मनको तल्लो भेग,खोलाखर्क र सामुदायिक वन अति उपयुक्त भएको कृषकको भनाई छ । अलैंची सुकाउने मेसिनको अभावमा आगो फुकेर वा घाममा सुकाएर अलैंची प्रशोधन लगाएतको ब्यवस्था गर्न कृषकले माग गरेका छन् ।

अलैंची भण्डारको समस्याका कारण कृषकले घरको धनसारमा सुकाउनुपर्ने भएकाले गाउँमा थप कृषकलाई तालिम दिएर एउटा भण्डारण गर्ने स्थानको माग गरिएको बताए । मंगला गाउँपालिकाकाले पनि अलैंची खेतीका लागि थापालाई सहयोग गरेको छ ।  गत साल थापाले उत्पादन गरेको अलैंची गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले नै विक्रिको व्यवस्था मिलाएको अध्यक्ष रोकाले बताए ।‘कृषकको उत्पादनलाई बजारीकरणमा समेत सघाएका छौ,‘ग्राहक खोजेर गाउँमै पठाए, अव भने बजारको समस्या छैन’ रोकाले भने । उनले गाउँपालिकाभित्र ब्यवसायीक अलैची खेतिका लागि निशुल्क बिरुवा वितरण सहित तालिम, प्रोत्साहनका कार्यक्रमहरु समेत सञ्चालन गरिने बताए ।

आग्र्यानिक खेती र व्यवसायिक कृषि मंगला गाउँपालिकाको प्राथमिकतामा नै रहेको रोकाको भनाई छ । उनले ब्यवसायीक अलैंची गर्न सकेमा विपन्न परिवारको आर्थिक स्थितिमा समेत सुधार ल्याउने सकिने भएकाले सम्भावना भएका क्षेत्रमा चालु आवमा समेत खेती विस्तार गर्ने बताए । जिल्लामा घरायसी प्रयोजनका लागि अलैंची खेती गरिएपनि ब्यवसायीक अलैंची खेतीका लागि अझै किसानलाई प्रयाप्त जानकारी तथा प्रोत्साहन हुन सकेको छैन् ।