सरकारी निकायको उदासीनताका कारण म्याग्दीका विभिन्न सडक जोड्ने पक्की पुल मर्मतसम्भारको अभावमा जीर्ण बनेका छन् । सदरमुकाम बेनी जोड्ने पक्की पुल, उत्तरी म्याग्दी तथा पश्चिम म्याग्दीका सडकमा दैनिक सवारीसाधन गुड्ने सडकहरूमा निर्मित पक्की तथा बेलिब्रिज मर्मत नहुदाँ सर्वसाधारणले जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । क्षमताभन्दा धेरै टन ढुवानी गर्दा उत्तरी म्याग्दी जोड्ने गलेश्वर, महभीर र पोखरेबगरको बेलिब्रिजमा जोखिम बढेको छ ।

उत्तरी क्षेत्रमा निर्माणधिन अवस्थामा रहेका जलविद्युत आयोजनाहरूमा आवश्यक पर्ने हेभी इक्यूमेन्ट लैजाने क्रममा पुलको क्षमता विस्तारै घट्दै गएको छ । कालिगण्डकी र राहुघाट नदीको कटान तथा भारवन क्षमताको मापन नगरी सवारीसाधन आवतजावत गर्दा पुल जिर्ण बन्दै गएको स्थानीयको भनाई छ । डेढ दशक अगाडी निर्मित पक्की पुलको मर्मत तथा क्षमतभन्दा बढीका सवारीसाधनलाई रोक लगाउन नसक्दा बेलिब्रिजको बिचमा प्वाल परेका छन् । गण्डकी प्रदेशको लाइफलाइन बेनी–जोमसोम– कोरला सडकखण्ड अन्तरगत महत्वपूर्ण मानिएको पुलको मर्मतमा बेवास्था गर्दा फलामे बेलिब्रिजमा ठडयाइएका पाता, नटबोल्टहरू छियाछिया भएका छन्।

दाङखोलाको बेलिब्रिजको पनि फलेक भाँचिए
धवलागिरी गाउँपालिका जोड्न फेदिस्थित दाङखोलामा बेलिब्रिजको फलेक जिर्ण हुदाँ आवतजावतमा समस्या भएको छ । मालिका गाउँपालिका–५ देविस्थानको फेदीबाट धवलागिरी जोड्ने बेलिब्रिजको बिचमा खाल्टो परेपछि दुर्घटनाको जोखिम बढेको छ । खोलाबाट आवतजावत गर्ने सवारीसाधनलाई बर्खाको समयमा समेत सहज बनाउने गरी निर्मित पुलका विभिन्न स्थानमा काठको फलेक भाँचिदा मोटरसाईकलमा आवतजावत गर्ने सर्वसाधारणालाई समस्या भएको छ । पुलमा पाँच मिटर २० सेन्टिमिटर अग्लो तीनवटा पक्की पिल्लर राखिएको पुलमा आठ वटा फलामे बिम र फलामका बिम माथि सल्लाका काठ बिछ्याइएको थियो ।

गाउँपालिकाको वडा नं ७ का अध्यक्ष कलानिधी शर्माले पुलको काठ जिर्ण भएको बताउँदै मंगलबार गाउँपालिकामा पुगेर जानकारी गराउने बताए । ‘फलेक फेर्नुपर्ने भएको छ,‘सहज आवतजावतको ब्यवस्था मिmलाउँछौ’ वडा अध्यक्ष शर्माले भने। उनका अनुसार भाँचिएको र त्यसलाई तलबाट सर्पोट राखी फलेक फेर्नुपर्ने जानकारी गाउँपालिकालाई गराउने बताए । उनले पुलको प्रयोग गरी बर्खाको समयमा समेत गाउँपालिकाको धारापानी, ताकम, मुना, मुदी, लुलाङ, गुर्जा र ढोरपाटन क्षेत्रका बासिन्दा आवतजावत गर्ने गरेका थिए । पुल बनाउन ३५ लाख आठ हजार रुपैयाँ लागेको थियो । कुनैसमय पुलले सामाजिक सञ्जाल र संचारमाध्यममा निकै चर्चा कमाएका थियो ।