म्याग्दीको सदरमुकाम बेनीबजारको म्याग्दी पुल तरेर पश्चिम हाँडेभीर सुर्केमेला बरंजा सडकखण्डतर्फ लाग्दा बगरफाँटमा रमणीय सुनौला धान झुलेका फाँटहरु देख्न सकिन्छ ।म्याग्दी खोलाको काखमा सुन्दर शान्त बगरफाँट बस्ती र शिरमा झर्ने बिभिन्न झरनाहरु हेर्दै करिब २ किलोमिटरको यात्रा पछि पुगिन्छ कोप्रे र उडाइनो झरनामा ।

करीब ५०÷५५ मिटर उचाई रहेको कोप्रे छहरा र २ सय मिटर उचाइ रहेको उडाइनो झरना मुख्य सडकको १०० मिटर दक्षिणी भागमा अवस्थित छ । मुख्य पहाडनै काटिएर अंग्रेजी अक्षर भी आकारमा माथिदेखि तल फैलंदै अर्धसोली आकारमा यस कोप्रे छहरा झरिरहेको छ । कोप्रो छहराको पूर्व पट्टि करिब २ सय मिटरको दुरीमा छ उडाइनो झरना । यहाँ दैनिक ५० देखि २ सय युवक युवतीहरु रमाउन आउने गर्दछन् ।

यी दुवै भरना युवक युवतीहरुका लागि खुसीका अनमोल खजाना बनेका छन् । शनिवार र विदाका दिन यहाँ घुम्न आउने युवक युवतीहरुको भीड नै लाग्ने गरेको बेनी नगरपालिका ३ का वडासदस्य गेमबहादुर घर्ती मगरले बताए ।बेनी नगरपालिका २ बगरफाँटमा पर्ने उडाइनो झरना र बेनी नगरपालिका ३ भकिम्लीको दुधेखोलामा पर्ने कोप्रो झरना दुवै वडाका आकर्षक झरना हुन् ।

बेनपा ३ भकिम्लीको तोराखेतवाट झर्ने उडाइनो झरना र कोप्रे झरना पानीको स्थायी स्रोत नहुँदा हिउँदमा सुक्ने र बर्खामा वग्ने गर्दछन् । पूर्वाधार विकास र प्रचारप्रसार गर्न सके आकर्षक पर्यटकीय गन्तव्य स्थलको रुपमा विकसित हुँदै गरेको लभहिल,टोड्के,भकिम्लीको स्वर्गाश्रम जस्तै अर्को पर्यटकीय गन्तव्य बन्न सक्ने स्थानीयको भनाइ छ ।

अन्य दिनभन्दा छुट्टिको दिनमा यहाँघुम्न आउनेको संङ्ख्या बढी हुने गरेको पाइएको छ भने किशोर किशोरी र युवा समुहले बढी अबलोकन गर्ने गरेका स्थानीयवासीको भनाइ रहेको छ । यी दुई झरना पर्यटकीय स्थल लव्ली हिल पछिको दोश्रो बढी फोटो खिचिने स्थान भएको बेनीबाट झरनामा घुम्न आएका छवी आचार्यले बताए ।

पैदल वा सवारी दुबैको प्रयोग गरी पुग्न सकिने यस छहरालाई व्यवस्थित गरी प्रचारप्रसार गर्न सकिएमा म्याग्दिको पर्यटनमा थप इट्टा थपिने उनको भनाइ छ । यहाँ पर्यटकी पूर्वाधराको विकास गर्ने हो भने भकिम्ली बेलढुंगा तथा मंगला गाउँपालिकाको झाँक्रीपानी सम्म पुग्ने आन्तरिक पर्यटको संख्यामा बृद्धि हुने बेनीका युवा किरण सापकोटाले बताए ।
रमणीय जंगलको बीचमा रहेको झरना वरिपरि जंगली जनावर र पुशपंक्षीको बासस्थानसमेत छ । प्राकृतिक स्वरुप नबिग्रने गरि सुविधायुक्त पर्यटकीय पूर्वाधार व्यवस्थापनका लागि योजना बनाउनुपर्ने स्थानीयको माग रहेको छ । तस्विर सौजन्य किरण सापकोटा