असोज २१ गते बडादशैंका दिन परेका भीषण असिनापानीका कारण म्याग्दीको बेनी नगरपालिका र मंगला गाउँपालिकाका गरी तीन वडामा ४ करोड रुपैयाँ बढीको क्षति भएको छ। बेनी नगरपालिका-२ ज्यामरुककोटको गौश्वारा, सानालेक, फापरखेत र गौश्वारा, मंगाला गाउँपालिका-१ को थाइबाङ र सोही गाउँपालिका-३ बरंजामा दशैंका दिन भीषण असिना पानी परेको थियो।

कृषि ज्ञान केन्द्र म्याग्दीले विपद् व्यवस्थापन समितिका पदाधिकारीसतितको टोलीले असिनाले क्षति पुर्‍याएका तीनवटै वडामा स्थलगत अनुगमन गरी क्षतिको विवरण संकलन गरेको हो। कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख गोविन्दराज कोइरालाका अनुसार तीनवटै वडाका ८ सय ५५ घरधुरीका कृषकको ५ हजार ६ सय ५७ रोपनी क्षेत्रफलमा लगाएको चार करोड एक लाख ४१ हजार ९०५ रुपैयाँ मूल्य बराबरको धान, कोदो र दलहन, लहरेवाली र तरकारीको क्षति गरेको छ।

कृषि ज्ञान केन्द्रले संकलन गरेको तथ्यांकअनुसार असिनाले सबैभन्दा बढी क्षति बेनी नगरपालिका(२ ज्यामरुककोटमा गरेको छ। ज्यामरुककोटका ४ सय २० घरधुरी कृषकको २ करोड १७ लाख दुई हजार ६ सय, बरंजाका ३ सय २० घरधुरी कृषकको एक करोड ३३ लाख ५८ हजार १ सय ६० र थाइवाङका १ सय १५ घरधुरी कृषकको ५० लाख ८१ हजार ४५ रुपैयाँ मूल्य बराबरको बर्खेवालीमा क्षति पुगेको छ।

तथ्यांकअनुसार २ हजार ७ सय ४२।२ रोपनीमा धान, एक हजार ६ सय ८८।५ क्षेत्रफलमा लगाएको कोदो र एक हजार २ सय २६ रोपनीमा लगाएको सिमी क्षति गरेको छ। संकलित विवरण एकीकृत गरी जिल्ला विपद् व्यवस्थापन समितिको मंगलबारको बैठकबाट निर्णय गरि राहतका लागि मन्त्रालयमा पठाइएको कोइरालाले बताए। केन्द्रका प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधि सहितको टोली असिनापीडित कृषकको खेतबारीमै पुगेको थियो।