जनकपुरधाममा आज (बुधबार) बिहान आफ्नो पैसाको ताकेता गर्न गएको एक युवकलाई आफ्नै साथीले गोली प्रहार गरी ज्यान लिएका छन् ।जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१४ स्थित मुजेलियाका पंकज चौधरीले गोली चलाउँदा जनकपुरधाम वडा नम्बर–१ बस्ने मनोज साहको ज्यान गएकाे हो ।

पंकजको घरमा गएर पैसाको ताकेता गर्दा पंकजले ‘घरमा आएर किन पैसा मागेको ?’ भन्दै आवेशमा आएर मनोजमाथि गोली प्रहार गरेर ज्यान लिएकाे प्रहरीले जनाएको छ ।मृतक मनोज सँगै पैसा माग्ने बेला घटना स्थलमा रहेका प्रत्यक्षदर्शी अमित साहले न्यूज २४ संग कुरा गर्दै भने- ‘सुरुमा लेनदेनको विषयमा चर्का चर्कि भयो र त्यसपछि पंकज चौधरीले गोली नै चलाए ।’

गोली प्रहारबाट मृत्यु भएका मनोजको शव परीक्षणका लागि जनकपुर अञ्चल अस्पतालमा राखिएको छ । गोली प्रहार गर्ने पंकज जिल्ला प्रहरी कार्यालय धनुषाको नियन्त्रणमा रहेका छन् । प्रहरीले पंकजलाई छेउ मैं रहेकाे ब्रम्हदेव यादवको घरबाट समातिएकाे हाे । ब्रम्हदेव यादव पंकजका पिताका मित्र हुन र उक्त घरमा यादवका पत्नी र छोरी मात्र रहेको बेला पंकज लुकेर पछाडिको बाटो प्रयोग गरेर घर भित्र प्रवेश गरेको स्वयं ब्रम्हदेवले बताए ।

हिरासतमा रहेका पंकजको साथबाट प्रहरीले पेस्तोल र त्यसमा लाग्ने गोली समेत बरामद गरेको छ । गोली चलेको स्थानमा दुर्इ ओटा खोका र एउटा पेस्तोल फेला परेको छ ।पंकज निर्माण व्यवसायी हुन् । उनले सर्लाहीमा रहेको मनोजको शिव आयल निगमबाट पेट्रोलियम पदार्थ किन्ने गरेका थिए । प्रहरीका अनुसार पंकजले मनोजको पेट्रोल पम्पबाट करिब १७ लाख रुपैयाँ बराबरको डिजेल लिएका थिए । जसबाट करीब ८ लाख रुपैयाँ उनले तिर्न बाँकी थियो ।

मनोजका आफन्तका अनुसार त्यही रकम असुल्नका लागि ताकेता गर्न उनी पंकजको घर गएका थिए । सोही क्रममा विवादहुँदा मनोजको गोली हानी ज्यान लिएका हुन् ।घटनाको बिषयमा धनुषा प्रहरीले थप अनुसंधान सुरु गरेको छ । गोली चलेको स्थान पंकजको घर र हतियार सहित समातिएकाे स्थान पड़ोसीको घरमा प्रहरीले मुचुलका उठाउँदै छ ।अहिले पंकज प्रहरी नियंत्रणमा छन् । गोली चल्दा पंकजका साथ अन्य दुर्इजना समेत रहेको प्रत्यक्ष दर्शी मृतक मनोजका साथ गएका अमितले बताएका छन् । Source: News24nepal.tv

विज्ञापन