बेनी नगरपालिका वडा नं ९ नेप्टेचौरकी एक युवती सात वर्षदेखि बेपत्ता छिन् । २०६९ साल साउन २ गते बेपत्ता भएकी १७ वर्षिया सरिता सुनामी सात वर्ष वित्दा पनि अझै सम्पर्कमा आएकी छैनन् । वेपत्ता सुनामीको उमेर अहिले २४ वर्ष पुगेको छ।

‘२०६९ साल साउन २ गते बिहानबाट हराएकी छोरी अहिलेसम्म पनि भेटिएकी छैन,वेपत्ता सरिताका बुबा गंगे सुनामीले भन्नुभयो ‘छोरी टुप्लुक्क आइपुग्छे की भन्ने आशले बाटो हेरेर बसेको पनि सात वर्ष भैसक्यो केही अत्तोपत्तो छैन ।‘
सरिताका बुबा आमालाई छोरी कहाँ छ, कुन अवस्थामा छ भन्ने कुराको कुनै जानकारी समेत नभएको र रातदिन छोरीको चिन्ताले उनका बुबाआमा पिरल्लीइरहेको स्थानीयवासी एवम् म्याग्दीका पत्रकार निर्मल खत्रीले बताए ।

नेप्टेचौरको राष्ट्रिय माध्यमिक बिद्यालयमा कक्षा दशमा अध्ययन गर्दागर्दै सरिता एकाएक वेपत्ता भएको खत्र्रीले जानकारी दिए । ‘७ वर्ष वितिसक्यो अहिलेसम्म कुनै अत्तोपत्तो छैन, खत्र्रीले भने।खत्र्रीका अनुसार सामान्य खेती किसानी गरेर छाक टादै आएका सुनामीे परिवारमा छोरी हराएपछि ब्रजपात नै परेको छ । छोरीको चिन्ताले आमा चन्द्रकली सुनामीको अवस्था दयनीय भएको छ ।

रातदिन छोरीको झझल्को आउने गरेको बताउने चन्द्रकलीले भनिन् ‘शुरुशुरुमा त आफन्तकोमा गएकी होली,आउली नि भनेर चित्त वुझायौं तर यतिका वर्ष भैसक्यो खैखवर समेत केही भएन ।‘‘छोरी आउँछे की भनेर बाटो हेरेर बस्नु बाहेक हामीले अरु केही गर्न सक्दैनौं, चन्द्रकलीले भनिन् ‘छोरीको खोजी गरिदिने मान्छे पाए भगवान मान्ने थियौं । सरिताको खोजी गरिदिन उनका बुबाआमाले सम्वन्धित सरोकारवालाहरुलाई आग्रह गरेका छन् ।