बागलुङको काँठेखोला गाउँपालिका वडा नं ३ धम्जाका बुद्धिबहादुर विक र बुद्धराम मगरको पुख्र्यौली पेशा भेडापालन हो।बाजेको पालादेखि शुरु गरेको भेडापालने नातिको पुस्तासम्म आइपुग्दा व्यवसायिक रुप लिइसकेको छ । बागलुङको धम्जामा भेडिगोठ राखेर म्याग्दीको स्वर्गाश्रम क्षेत्रको जंगलमा भेडा चराउनु विक र मगरको दैनिकी बनेको छ ।

४४ वर्षिय बुद्धिबहादुर विकले आफू जान्ने भएदेखि नै म्याग्दीको बेलढुङ्गा र स्वर्गाश्रम क्षेत्रको जंगलमा भेडा चराउँदै आएको बताउनुभयो । विकले आफ्ना ५२ ओटा भेडालाई विहानको खाना खाएपछि दैनिकरुपमा यस क्षेत्रमा चराउन ल्याउने गरेको पनि ठ्याक्कै ३२ वर्ष भयो । १२ वर्षको उमेरदेखि भेडा चराउने पेसा अपनाएका विक आफ्नो जागिर र व्यवसाय दुवै भेडापालन नै भएको बताउनुहुन्छ ।

त्यस्तै विकसंगै भेडा चराउन म्याग्दीको जंगलमा आउनुभएका वागलुङका वुद्धराम मगरले पनि आफ्नो बाल्यकाल र युवा अवस्था भेडासंगै जंगलमा नै विताउनुभएको छ । ‘बालापन र बैंश दुवै यसैमा वित्यो हजुर, अब त यसैमा आनन्द छ, आफ्ना ४२ ओटा भेडालाई खेद्दै ओरालो झर्दै गर्नुभएका मगरले भन्नुभयो ‘जापान पनि यहि हजुर कोरिया नि यही ।‘

ठट्यौलो स्वभावका विक र मगरका भेडाहरु पनि हेर्दै लोभलाग्दा छन् । अधिकांश सेता र केही काला भेडाहरुको बथान लिएर ओरालो झर्दै गरेका यी भेडापालक कृषकहरुको आम्दानी पनि सामान्यरुपमा अनुमान गरिने भन्दा फरक छ । विक भन्नुहुन्छ ‘एउटा भेडाको मूल्य ५ हजारदेखि ५० हजारसम्म पर्छ । वर्षमा ५÷७ लाख रुपैयाँ कमाइ हुन्छ ।‘

मगरले पनि भेडा विक्रि गरेर वर्षमा ५ लाख भन्दा बढि कमाउने गरेको बताउनुभयो । मासिक सरदर ५० हजार कमाइ भएपछि विक र मगरलाई गाउँको भेडिगोठ र जंगलको चरनमा नै रस बसेको छ । मगर भन्नुहुन्छ ‘अमेरिका अष्टेलिया जाउँला भन्ने कहिल्यै लाएन,जाबो अरब कतारको कमाइ यहीँ हुन्छ, हामी त यतै मस्तै यतै व्यस्तै ।सुन्ने मान्छेलाई पनि कुरैले चोत्क्याउने खुवी भएका यी दुई भेडापालक कृषकको समस्या भनेको भेडालाई चरनको अभाव नै हो ।

आफनो नजिकको जंगल सामुदायिक वन बनेपछि भेडापालन गर्न समस्या भएको उनीहरुको भनाइरहेको छ । ‘नजिकमा चराउने ठाउँ छैन,त्यसैले यति टाढा चराउन ल्याएका हौं, मगरले भने ‘ सरकारले गाउँगाउँमा केजाती हो (रोजगारी) दिन्छु भन्थ्यो,हामीलाई त वन खुला गर्दिए हुन्थ्यो ।विक र मगरजस्तै धम्जामा ९ जना कृषकले व्यावसायिक भेडापालन गरेका छन् । उनीहरु सबैको एउटै समस्या छ, त्यो हो चरनको अभाव ।

विज्ञापन