गिटी कुटेर परिवारको गुजरा चलाउँदै आएका दृष्टिविहिन बेनी नगरपालिका–२ फाँपरखेतका आइतबहादुर नेपालीलाई प्रवासबाट ३९ हजार ९ सय रुपैयाँ हस्तान्तरण गरिएको छ । दैनिकजसो विहानै ज्यालामजदुरीमा ब्यस्त हुने नेपालीको परिवारमा विहान बेलुकी हातमुख जोड्न, दुई छोराको शिक्षादिक्षा लगाएत विभिन्न समस्याका बारेमा सञ्चारमाध्यममा समाचार देखेपछि बेनपा–१ अर्जम घरभई हाल मलेसियामा रहेका आषिश परियारको पहलमा संकलन भएको सहयोग बिहिबार एक कार्यक्रम गरी घरमै हस्तान्तरण गरिएको हो ।

पत्रकार हरिकृष्ण गौतम, धौलागिरी टेलिभिजनमा कार्यरत पत्रकार शिव बोहोराले उक्त रकम हस्तान्तरण गर्नुभएको छ । सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै दृष्टिविहिन नेपालीले आर्थिक अभावका कारण छोराको पढाई खर्च समेत जुटाउन समस्या भइरहेको अवस्थामा प्राप्त सहयोगले सहज भएको बताउनुभयो ।

उहाँले सहयोगलाई छोराको पढाई, घरमा आवश्यकता अनुसार खाद्यान्न साम्रागीमा खर्च गर्ने बताउनुभयो । सहयोग हस्तान्तरण कार्यक्रममा राष्ट्रिय समाचार समितिका म्याग्दी संवाददाता धुर्वसागर शर्मा लगाएतको उपस्थिती रहेको थियो । यसअगाडी समेत नेपालीलाई १ लाख ४० हजार हस्तान्तरण गरिएको थियो भने विभिन्न समयमा जन्मदिन लगाएतका अवसरमा समेत सहयोग गरिएको बताइएको छ ।