तिहारका लागि घर रङ्गाउने कमेरो खन्ने क्रममा आज बिहान आएको पहिरोमा परी रोल्पामा एक किशोरीको मृत्युभएको छ। रोल्पा नगरपालिका–३ कमिरेधारामा कमेरो खन्ने क्रममा सुनिल स्मृति गाउँपालिका–५ काभ्राकी १८ वर्षीया पवित्रा सेनको घटनास्थलमै मृत्युभएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक चित्रबहादुर गुरुङले घटनामा परी सोही ठाउँका २२ वर्षीया भावना रोका र २२ वर्षीया सीता घर्ती घाइते भएको बताउनुभयो । रोकाको छातीमा र घर्तीको टाउकोमा चोट लागेको छ । प्रहरीचौकी सातदोबाटोबाट गएको प्रहरी टोलीले घाइतेको उद्धार गरिरहेको गुरुङले जानकारी दिनुभयो ।

उद्धारपछि घाइतेको उपचार गरिने प्रहरीले बताएको छ । उक्त घटनास्थल निकै जोखिमयुक्त रहे पनि स्थानीयवासीले दशँै तिहारमा घर रङ्गाउने कमेरो सोही ठाउँबाट खन्दै आएका छन् । दशै तिहारकै मौसममा  अघिल्लो वर्ष पनि यहाँ एकजनाको मृत्युभएको रोल्पा नगरपालिका–३ की सरमा विष्टले जानकारी दिनुभयो ।