ललितपुरको दुर्गम गाउँकी १५ वर्षीया सीता (नाम परिवर्तन) असोजको तेस्रो साता छिमेकी काकासँग घुम्न भन्दै मोटरसाइकलमा बसेर लगनखेल आइन्। बिहान सँगै आएर बेलुका पनि सँगै फर्किने भनेकी उनी बेलुकी घर फर्कने क्रममा भने भेटिइनन्। त्यसपछि छिमेकीले कोहीसँग गाउँ फर्किएको अनुमान लगाए। गाउँतिरका मान्छेहरु सहर आउजाउ गरिरहने भएकाले उनले त्यति सोधिखोजी गरेनन्। तर ती किशोरी घर फर्केकी थिइनन्, बरु धेरै दिनसम्म बेपत्ता भइन्।

आमा गुमाएकी उनी बुबाले अर्को विहे गरेपछि छिमेकीको सहयोगमा गाउँमा बस्दै आएकी थिइन्। छिमेकीकै सहायतामा उनी कक्षा सातमा पढ्दै थिइन। छिमेकीले त्यति वास्ता नगर्दा उनलाई गाउँबाट कतिखेर भागौं भइरहेको थियो। त्यही सोचमा उनी छिमेकीको पछि लागेर लगनखेल आएकी थिइन्।

अनि उनी त्यहीं बरालिन थालिन्। यताउता गर्दागर्दै गोदावरी–लगनखेल रुटका माइक्रोबसका चालक र सहचालकले उनीमाथि आँखा लगाउन थाले। कलिलै उमेरकी सीतालाई को मान्छे कस्तो हुन्छ भनेर थाहा थिएन। उनी लगनखेल आएको एकदुई दिनमै ती चालक र सहचालकसँग नजिकिइन्। सबै सोधीखोजी गरेपछि चालकले जागिर लगाइदिने आशा देखाए। उनीहरुले एउटा क्याफेमा वेटरको रुपमा काम लगाइदिने लोभ देखाए। सीताले पनि पत्याइन् र कात्तिक १ गतेबाट काम सुरु गर्ने निधो गरिन्।

कात्तिक १ गते उनी खुसी हुँदै वेलकम क्याफेमा पसिन्। रिसेप्सनमा क्याफेका सञ्चालक विकास तिमिलसिना थिए। उनले सुरुमै नाम सोधे। त्यसपछि घरायसी र अन्य विवरण सोधे। सीता आफूलाई काम लगाइदिने चालक र सहचालकले सबै कुराकानी गरेका होलान् भन्ठानेर त्यति बोलिनन्। त्यसपछि तिमिलसिनाले क्याफेमा केके काम गर्ने भनेर सीतालाई बुझाए। ग्राहकलाई चिया पु-याइदिने, कप धुने काम गर्नुपर्ने उनले बताए। उनलाई त्यहाँ बस्न छुट्टै कोठा दिने पनि बताइयो। यति कुरा गरिसक्दा साँझ ५ बजेको थियो।

रात परेपछि भने तिमिल्सिनाको व्यवहार फेरियो। उनले भन्न थाले, ‘हेर, पैसा कमाउने भए हामीले भनेको काम मान्नुपर्छ।’ सीताले सोधिन्, के काम ?’ ‘कोठाभित्र भित्रै बसेर गर्ने काम हो, केही समस्या हुँदैन’, तिमिलसिनाको कुरा सीताले बुझिनन्। त्यसपछि तिमिलसिना ‘म सिकाइदिऊँ’ भन्दै उनको नजिक पुगे, हात ताने, मुख उनको चिउँडोमा पु¥याए। सीताको शरीर थरथर काप्न थाल्यो। बाबुसरहको मान्छेले त्यस्तो व्यवहार देखाउन थालेपछि उनी कराउन थालिन्। तर कोठाको ढोका बन्द थियो। रात परिसकेको थियो। जति कराए पनि सुन्ने कोही थिएन। उनी त्यो रात ६४ वर्षका तिमिलसिनाको यौन प्यास मेटाउने साधन बनिन्। अर्को दिन उनी त्यहाँबाट फुत्किन खोजिन् तर तिमिलसिनाले दिएनन्। बरु पैसाको प्रलोभन देखाएर फकाउन थाले। त्यसपछि उनी अर्का कामदार विशाल तिमिलसिना र चालक सुमन नेपालीबाट पनि बलात्कारको सिकार भइन्। सञ्चालक तिमिलसिनाले बिस्तारै बाहिरी ग्राहकसँग पनि सम्पर्क गराउन थाले, दबाब पनि दिए। मार्नेसम्मको धम्की दिएपछि ती किशोरी जेजे भन्छन्, त्यही त्यही मान्न तयार भइन्।

कात्तिक ३ गते क्याफेबाट अर्को होटलका साहूले समेत लगेर बलात्कार गरे। होटलमा किशोरीमाथि बलात्कार हुँदै आएको छिमेकका केही व्यक्तिले कात्तिक ५ गते थाहा पाए र महानगरीय प्रहरी वृत्त सातदोबाटोलाई जानकारी गराए। वृत्तको टोलीले क्याफेको एक कोठामा किशोरीलाई भेट्टायो। उनको अवस्था देखेपछि प्रहरी नै स्तब्ध भयो। ‘होटलको कोठामा बन्धक बनाएर बलात्कार गरिँदै आएको रहेछ,’ वृत्तका डिएसपी गौतम मिश्रले भने, ‘प्रहरी त्यहाँ पुग्दा युवती घाइते थिइन्। हामीले उनलाई पाटन अस्पतालमा पठायौं।’ उनका अनुसार अहिले किशोरीको पाटन अस्पतालमा उपचार भइरहेको छ। घटनामा संलग्न तीनजनामाथि मानव बेचबिखन तथा जबर्जस्ती करणी कसुरमा प्रहरीले अनुसन्धान गरिरहेको छ। Nagariknews.com