म्याग्दीको तीन ठाउँमा भ्यु–टावर निर्माण भएको छ । स्थानीय तहले आ–आफ्नै बजेट व्यवस्थापन गरी पर्यटकीय क्षेत्रमा भ्यु–टावर बनाएका हुन् । गत आर्थिक वर्षमा मंगला गाउँपालिका, रघुगंगा गाउँपालिका र बेनी नगरपालिकाले भ्यु–टावर निर्माण गरेका छन् ।

पर्यटकीय क्षेत्रको प्रचारप्रसारसँगै त्यस ठाउँमा पर्यटकहरु भियाउनका लागि भ्यु–टावर निर्माण गरिएको छ । जिल्लामा आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई गाउँगाउँमा आकर्षित गर्नेगरी पर्यटकीय क्षेत्रहरुमा भ्यु–टावर निर्माण गरिएको स्थानीय तहले जनाएका छन् । मंगलाको पर्यटकीय क्षेत्र बराङ्जाको झाँक्रीपानी, रघुगंगाको पर्यटकीय क्षेत्र रुइसे र बेनी नगरपालिकाको पर्यटकीय एवं धार्मिक क्षेत्र केभहिलमा भ्यु–टावर निर्माण गरिएको छ ।

म्याग्दी जिल्ला हिमाली जिल्ला हुनुका साथै धार्मिक, ऐतिहासिक र पर्यटकीय हिसाबले सम्भावना बोकेको जिल्लाका रुपमा चिनिएकाले म्याग्दीमा भित्रिने पर्यटकलाई स्थानीय तहमा पु¥याउन भ्यु–टावर बनाइएको हो । जिल्लामा वर्षेनी आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई गाउँगाउँसम्म पु¥याउनका लागि भ्यु–टावर निर्माण गरिएको सम्बन्धित स्थानीय तहको भनाइ छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीको वार्षिक तथ्याङ्क अनुसार म्याग्दीमा एक वर्षको अवधिमा ७५ हजारभन्दा बढी पर्यटकहरु आउने गरेका छन् ।

साविक धौलागिरी अञ्चलमा रहेका चारवटा जिल्लाहरुमध्ये म्याग्दी उत्तर–दक्षिण जोड्ने बहुचर्चित कोरला नाकाको बिचमा पर्ने र हिमालपारीको जिल्ला मुस्ताङ तथा प्रसिद्ध मुक्तिनाथ मन्दिरको मुख्य प्रवेशद्वारका रुपमा रहेकाले पनि म्याग्दीमा विस्तारै पर्यटकहरु बढ्ने गरेका छन् । प्रहरीको पछिल्लो तथ्याङ्क अनुसार म्याग्दी जिल्लामा हरेक वर्ष पर्यटक आगमनको सङ्ख्या पनि बढ्दै गैरहेको छ । विगत केही वर्षयता म्याग्दीमा बाह्य पर्यटकका साथसाथै आन्तरिक पर्यटकहरुको पनि चहलपहल ह्वात्तै बढेको छ । तुलनात्मक रुपमा बाह्यभन्दा आन्तरिक पर्यटकहरु धेरै भित्रिएको भनिए पनि आन्तरिक पर्यटकहरु कति आउँछन् भनेर ठ्याक्कै तथ्याङ्क छैन ।

मंगला गाउँपालिका–३, बराङ्जाको झाँक्रीपानीमा कुल २७ लाख रुपैयाँको लागतमा भ्यु–टावर निर्माणसम्पन्न भएको छ । गत आर्थिक वर्षमा निर्माणसम्पन्न भ्यु–टावर निर्माणका लागि सांसद विकास कोषबाट १० लाख, गाउँपालिकाले साढे पाँचलाख र वडा कार्यालयले साढे पाँचलाख र स्थानीय जनश्रमदान छ लाख रुपैयाँको लागतमा भ्यु–टावर बनाइएको वडा अध्यक्ष कविन्द्र रोकाले जानकारी दिए ।

यसैगरी रघुगंगा गाउँपालिका–२, राखुभगवतीस्थित रुईसे क्षेत्रमा पनि गाउँपालिकाको आफ्नै कुल ३१ लाख ६३ हजार रुपैयाँको लगानीमा भ्यु–टावर बनाइएको गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले बताए । पर्यटकीय क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटहरुको उपस्थिति बढाउने उद्देश्यसहित रुईसे क्षेत्रमा पर्यटक जाने भ्यु–टावर, पदमार्ग तथा तालिम हल समेत बनाइएको उनले जानकारी दिएका छन् । त्यस्तै बेनी नगरपालिका–५, पुलाचौरको गाजनेस्थित केभहिलमा पनि बेनी नगरपालिकाको पाँचलाख रुपैयाँको लगानीमा भ्यु–टावर निर्माण सुरु गरिएको छ ।