परम्परागत प्रविधि र सिपमा आधारित रहेर बनाइएका पुराना साधनहरु गाउँबाट हराउँदै जान थालेका छन् । बढ्दो आधुनिकतासँगै डिजेलको सहयोग तथा विद्युतबाट चल्ने मिल समेत गाउँगाउँमा पुगेपछि पुराना प्रविधिका साधनहरु लोप हुने अवस्थामा पुगेका हुन् ।

आधुनिक प्रविधितर्फको बढ्दो आकर्षण र सुविधाभोगी प्रवृत्तिका कारण हिमाली जिल्ला म्याग्दीको दुर्गम तथा ग्रामीण क्षेत्रमा रहेको रैथाने प्रविधि लोप हुँदै गएको हो । परम्परागत रुपमा प्रयोग गरिँदै आएका घरेलु मेसिनहरु हराउँदै गएपछि पर्यटकीय जिल्ला म्याग्दीको ग्रामीण पहिचान पनि मेटिदै गएको छ ।

ऊखु पेलेर खुदो निकाल्ने, अमिलो पेलेर चुक बनाउने र तोरीबाट तेल निकाल्न प्रयोग गरिने परम्परागत घरेलु मेसिन ‘कोल’ गाउँमा नदेखिएको धेरै भयो ।अघिल्लो पुस्तासम्ममा ऊखु, अमिलो र तोरी पेल्नका लागि गाउँमा घरेलु मेसिनको रूपमा रहेको कोल अहिले आएर जिल्लाको ग्रामीण क्षेत्रहरुमा विस्थापित बनिसकेको छ । त्यसैगरी धान कुट्नका लागि प्रयोग हुने ढिकी र ओखल पनि विरलै देख्न पाइन्छन् । वर्षामा ओढ्ने सेगुको ठाउँ अहिले प्लाष्टिकले ओगटेको छ ।

गाउँमा जाँतो प्रयोगकर्ता पनि कमै मात्रामा छन् । आधुनिक प्रविधिको विकास हुनु अघि यस क्षेत्रमा दैनिक जीवनयापनका लागि अतिआवश्यक साधनहरु तेल पेल्ने कोल, उखु पेल्ने कोल, ढिकी, जाँतो, ओखल र पानीघट्ट लोप हँुदै गैरहेका छन्।
करिब तीन दशक अगाडिसम्म निकै चलनचल्तीमा रहेका यी घरेलु मेसिनको प्रयोग विस्तारै घट्दै गएपछि संरक्षणको अभावमा लोप हुन थालेका हुन् । विभिन्न आधुनिक घरेलु मेसिनको प्रयोगपछि म्याग्दीमा यी घरेलु मेसिन विस्थापित बनेको जडिबुटी विज्ञ चन्द्रमणि सापकोटाको भनाइ छ ।

घरेलु प्रविधिसँगै यहाँको मौलिक संस्कृति पनि धरासायी बन्दै जान थालेको छ । लोक संस्कृतिमा ख्याती कमाएको म्याग्दीका लोकबाजाहरु खैंजडी, मादल, डम्फु, ढोलक, सहनाई र कर्नाल पनि हराउँदै जान थालेपछि यहाँको लोक संस्कृति पनि ओझेल पर्ने देखिन्छ । परम्परागत सभ्यता र मौलिक संस्कृतिको प्रतिक घरेलु मेसिन लोप हँुदै गएपछि मौलिक संस्कृति समेत प्रभावित बनेको स्थानीयबासिन्दा बताउँछन् । घरेलु मेसिन लगायतका परम्परागत साधनहरू पनि लोप हँुदै गएपछि यस क्षेत्रको मौलिक सभ्यता नै सङ्कटमा परेको छ ।

स्थानीय स्रोतसाधन तथा स्थानीय सीपबाटै निर्माण गरिने घरेलु मेसिनबाट यस क्षेत्रको परम्परागत जनजीवन, कला र सामाजिक अवस्थाका विषयमा समेत अध्ययन गर्न सकिन्छ । दैनिक जीवनमा प्रयोगमा आधुनिक मेसिन भित्रिए पनि यस क्षेत्रका घरेलु मेसिनको आफ्नै खाले विशेषता रहेको स्थानीयको भनाइ छ । प्रायः सामूहिक रूपमा प्रयोग गरिने घरेलु मेसिनको विशेषता सामाजिक सद्भावमा अभिवृद्धि गर्नु पनि रहेको जानकारहरूको तर्क छ । सामूहिक प्रयोगका माध्यमबाट घरेलु मेसिनले आपसी सम्बन्धमा निकटता ल्याई सामाजिक सहयोग एवं सद्भावना र भाइचारामा अभिवृद्धि गर्ने उनीहरूको तर्क छ ।