बेनी नगरपालिका–२ बगरफाँटको कोटखोलाका बाढी पीडितहरुलाई एनआरएन कान्तो क्षेत्रीय कमिटीका कोषाध्यक्ष तथा मोना जापानका सदस्य सागर कार्की र मोना सेन्दाई क्षेत्रीय कमिटीका उपाध्यक्ष सागर थापा (बगाले) को पहलमा संकलन भएको १ लाख ६३ हजार ८ सय रुपैयाँ सहयोग प्राप्त भएको छ ।

जापानमा रहेका ज्यामरुककोटवासी,म्याग्देली लगाएत अन्य जिल्लाका मनकारी व्यक्तिहरु गरी ३२ जनाबाट प्राप्त भएको सो रकम बेनी नगरपालिका २ ज्यामकरुककोटका अध्यक्ष हिराबहादुर थापाले बाढी पीडित राहत संकलन समितिका संयोजक भीमबहादुर रिजाल (राजु) लाई शुक्रवार एक कार्यक्रमका बिच हस्तान्तरण गर्नुभएको हो ।

सहयोग रकम हस्तान्तरण गर्दै वडाअध्यक्ष थापाले अध्ययन वा रोजगारीका लागि जापानमा गएका ज्यामरुककोटका युवाहरुको पहलमा संकलन भएको यो रकमले बाढी पीडितहरुको आवास तथा अन्य व्यवस्थापनमा ठूलो सहयोग पुग्ने बताउनुभयो ।

आफ्नो जन्मभूमीमा विपद्मा परेकाहरुको सहयोगका लागि आफ्नो गास काटेर भएपनि सहयोग गरेकोमा सम्पूर्ण सहयोगदाताहरु र सहयोग संकलनका लागि नेतृत्वदायी भूमिका निर्वाहा गर्ने सागर थापा र सागर कार्कीलाई धन्यवाद ज्ञापन गर्नुभयो । ज्यामरुककोटमा जन्मेर जापानलाई कर्मथलो बनाएको सागरद्धयले विभिन्न परोपकारी कामहरुमा सहयोग गर्दै आएका छन्।

विगतका वर्षहरुमा पनि म्याग्दी र देशका विभिन्न क्षेत्रहरुमा भएका विपदका घटनाहरुमा थापाले आर्थिक वा रचनात्मक सहयोग गर्दै आएका थिए । असोज ४ गते राती आएको बाढीले दिलप्रसाद जुग्जाली, रमेश परियार, पार्वती परियार, मायाँ परियार, रस्मी परियार, अनिता परियार, सेते किसान र बुद्ध एकेडेमीलाई क्षति पुर्याएको थियो । बाढीबाट क्षति पुगेको बुद्ध एकेडेमीको पुर्ननिर्माणको करिव ९५ प्रतिशत काम भने सम्पन्न भैसकेको छ ।

बाढीबाट क्षति पुगेको व्यक्तिहरुको पुर्नस्थापनाका लागि पहल भैरहेको र उनीहरुलाई घर निर्माणका लागि जग्गाको खोजी भैरहेको वडाअध्यक्ष थापाले बताउनुभयो ।पूर्णरुपमा विस्थापित दुई परिवार अहिले पनि सरस्वती आधारभुत विद्यालयको कोठामा बसेका छन् ।उनीहरुको सहयोग र व्यवस्थापनका लागि आर्थिक संकलन गर्ने उद्धेश्यले गठन गरिएको बगरफाँट बाढी पीडित आर्थिक संकलन तथा व्यवस्थापनको खातामा अहिलेसम्म ३ लाख ५२ हजार ३ सय रुपैयाँ संकलन भएको संयोजक रिजालले बताउनुभयो ।