गैरसरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा म्याग्दीको १८ औं साधारणसभा तथा नवौं अधिवेशनबाट दिपक पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । शुक्रबार सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा अम्मर बानियाँ, सचिवमा निरमाया मिजार, सह–सचिवमा प्रकाश रेग्मी चयन भएका छन् । त्यसैगरी कार्यसमिति सदस्यहरूमानेकसरा पुन, रञ्जना श्रेष्ठ, बद्री पौडेल, कुमार थापा, विज्ञान सुवेदी र भिम बहादुर रिजाल रहेका छन् ।

साधारणसभा तथा अधिवेशनको उद्घाटन महासंघ नेपालका केन्द्रीय महासचिव रामप्रसाद सुवेदीले संघीय देशमा गैससलाई अझै पनि फरक दृष्टिकोणले हेर्ने गरिएको बताए । उनले संस्था दर्ता ऐन–२०३४ संशोधन गर्नुपर्ने बताउँदै यसलाई परिवर्तन गरी सहज बनाउनुपर्ने आवश्यकता रहेकोमा जोड दिएका छन् ।

अन्तर्रा्ष्ट्रिय सहायतालाई पारदर्शी बनाउनुपर्ने माग गर्दै गैरसरकारी संघसंस्थालाई डलर खेती गर्ने भनेर आरोप लगाउने गरिएको भन्दै अन्तर्रा्ष्ट्रिय सहायताको कुल रकममध्ये ८७ प्रतिशत सरकारले लिने बताउँदै १३ प्रतिशत मात्रै गैसस संघसंस्थाहरुले पाउने पनि स्पष्ट पारेका छन् । सोही कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्र बहादुर केसीले दुर्गम क्षेत्रमा पुगेर गैरसरकारी संघसंस्थाहरुले काम गर्दै आइरहेको हुँदा यसका लागि आवश्यक सहयोग गर्न प्रतिबद्ध रहेको बताए ।

बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले आफ्नो कार्यक्रमसहित आउने गैससहरुलाई नगरपालिकामार्फत आवश्यक सहयोग गरिएको बताए ।कार्यक्रममा नेपाली कांग्रेस म्याग्दीका सचिव क्या मिनबहादुर कार्की, गैसस महासंघ गण्डकी प्रदेशका अध्यक्ष विना सिलवाल र म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्यले मन्तव्य राखेका थिए ।

साधारणसभाको उद्घाटनसत्रमा गैसस महासंघका जिल्ला अध्यक्ष हरिप्रसाद पौडेलले प्रगति र कोषाध्यक्ष विष्णु रोकामगरले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रम अध्यक्ष पौडेलको अध्यक्षता, उपाध्यक्ष दिपक पौडेलको स्वागत र सचिव निरमाया मिजारको सञ्चालनमा सम्पन्न भएको थियो । यसैबीच नवनिर्वाचन अध्यक्ष पौडेलले गैससमार्फत जिल्लाका स्थानीय तहसँगै सामाजिक तथा विभिन्न कार्यमा समेत सक्रियता देखाउने बताए ।