म्याग्दीको ग्रामिण क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिने भएको छ । शुक्रबार बसेको सुरक्षा समितिको बैठकले प्रहरी र शसस्त्र प्रहरीको संयुक्त टोलीले अस्थायी संयुक्त सुरक्षा बेसक्याम्प खडा गरी अपराधिक गतिविधि गर्नेहरूमाथि निगरानी बढाउने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालको अध्यक्षतामा बसेको बैठकले प्रहरीबाट ७ जना र शसस्त्र प्रहरीका ५ जना गरी १२ जनालाई नियमित गस्ती, राष्ट्रिय अनुसन्धानको एक जनालाई समेत सोही स्थानमा खटाउने गरी ग्रामिण सुरक्षा संयन्त्र तयार गरेको प्रहरी नायव उपरिक्षक महेन्द्रप्रसाद मरासिनीले बताए ।

‘सुरक्षा संदेनशिलताको हिसाबले यो निर्णय गरिएको छ,‘नियमित गस्ती सहित स्थानीयको समस्यालाई समेत बुझ्नेछौ’ प्रनाउ मरासिनीले बेनीअनलाइनलाई भने । उनका अनुसार संयुक्त सुरक्षा बेसक्याम्प हरेक वडाका बस्तीबस्तीमा पुग्ने बताए ।
सुरक्षा समितिले पहिलो अस्थायी बेसक्याम्प बेनी नगरपालिका–३, भकिम्लीमा राख्ने निर्णय गरेको छ । गएराती मुसुङडोलेमा रोकिराखेको एनसेलको टावर मर्मत गरेर फर्किएको बा १३ च ८४३४ नम्बरको बोलेरो जीपमा आगजनी भएपछि त्यहाँबाट अभियानको सुरुवात गर्ने जनाएको छ । टोलीमार्फत प्रहरीले समुदायसँग प्रहरी लगाएतका रचनात्मक सन्देशमुलक कार्यक्रम समेत सञ्चालन गर्ने जनाएको छ ।

भकिम्लीलाई सुरक्षा समितिले विप्लव नेतृत्वको माओवादीको चलखेल हुने क्षेत्रको रुपमा लिने गरेको छ। छिमेकी जिल्ला बागलुङबाट आवतजावत गर्न मिल्ने तथा बस्ती नजिक जंगल भएकाले पनि गतिविधि बढ्दै गएको स्रोतको भनाई छ । बैठकमा प्रजिअ ढकालले जिल्लाको शान्ति सुरक्षालाई मजबुद बनाउन समुदायसँग हातेमालो गर्ने गरी विभिन्न कार्यक्रम अन्तरगतको एउटा माध्यम भएको बताए । सुरक्षा समितिले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको सरकारद्धारा प्रतिबन्धित नेकपाका गतिविधिलाई समेत निगरानी गर्ने गरी उक्त निर्णय गरेको हुनसक्ने अनुमान गरिएको छ । संयुक्त गस्तीलाई बेनी नगरपालिका सहित सुरक्षा संयन्त्रले तयार गरेको स्थानमा परिचालन गरिने जनाइएको छ ।

विज्ञापन