नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सरकारद्वारा गरिएका कामका बारेमा जनतालाई जानकारी गराउन आफ्ना नेता तथा कार्यकर्तालाई पटकपटक निर्देशन दिए पनि लक्षित नतिजा आउन सकेको छैन ।
नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी तथा संसदीय दलको हरेकजसो बैठकमा सरकारले गरेको कामको बारेमा प्रसार नभएको गुनासो गर्दै आएका छन् । उनले पार्टीका नेता, कार्यकर्ता, सांसद, मन्त्रीहरूलाई आआफ्ना क्षेत्रमा गएर सरकारले गरेको कामका बारेमा जानकारी गराउन, भइरहेको कामको अनुगमन गर्न पटकपटक निर्देशन दिँदै आएका छन् ।
पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०७६ भदौ १३ गते अन्तरपार्टी निर्देशन–२ जारी गर्दै पार्टीले नेता, कार्यकर्ता एवं सदस्यहरूलाई जनतासँग जोड्ने र आमजनसमुदायलाई सरकारद्वारा सञ्चालित विकास, समृद्धि र सामाजिक न्यायसहितको महाअभियानसँग जोड्ने गरी विशेष राष्ट्रिय अभियान सञ्चालन गर्ने बताएका थिए । यो समाचार आजको गोरखापत्रमा सुरेशकुमार यादवले लेखेका छन् ।